बेनीमा कार्यालय खोलेर कृषकको लाखौ ठगेर फरार

  • ३ श्रावण २०७६, शुक्रबार
  • 3845 पटक पढिएको

सन्तोष गौतम
बेनी ३ साउन । विउ र बिरुवा वितरण गर्ने बाहनामा एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका कर्मचारीले म्याग्दीका कृषकहरुलाई लाखौ रुपैयाँ ठगेर फरार भएका छ् । सित्तैमा विउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालन गर्नेलाई र्निब्याजी अनुदान दिने आश्वासन दिएर समूह बनाई सदस्यहरुबाट लाखौ उठाएपछि कर्मचारीहरु कार्यालय बन्द गरेर फरार भएका हुन् ।करिब एक वर्षअघि दुई हजार रुपैयाँ शूल्क तिरेर कम्पनीको सदस्य बनेका बेनी नगरपालिका २ बगरफाँटका क्षेत्रबहादुर कटुवालले बेनीमा रहेको कार्यालय बन्द गरेर कर्मचारी भागेपछि जिल्ला प्रहरी कार्यालयमा कम्पनी विरुद्ध उजुरी गरेको बताउनुभयो ।

बेनीमा रहेको एसोशियसन अफ एग्रीकल्चर (आन)को कार्यालय 

‘तरकारीका विउ र फलफूलका बिरुवा घरघरमै ल्याएर निशूल्क बाँड्छौ, ढुवानी खर्च मात्र दिए हुन्छ भनेर दुई हजार रुपैयाँका दरले उठाएका थिए,’ कटुवालले भने ‘न बिउ, न पैसा भयो । प्रहरीमा उजुरी पछि असार १७ गते दुबै पक्षलाई छलफलमा बोलाएपनि प्रगति भएको छैन् ।’गत माघमा दुई हजार रुपैयाँ तिरेर सदस्य बनेका बगरफाँटका भिमबहादुर रिजालले सिमि, काँक्रो र बोडीको एक/एक वटा मिनीकिट र पाँच किलो आलुको विउ मात्र पाएको बताउनुभयो । कम्पनीले बजार मूल्य भन्दा बढी भाउ देखाएको र आफूहरुले तिरेको रकम अनुसारको सामान नदिएको खबराका कृषक चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

बेनीमा रहेको एसोशियसन अफ एग्रीकल्चर (आन)ले कम्पनीमा आवद्ध कृषकलाई वितरण गरिएको कार्ड ।

पैसा उठाएर लगेपनि विउ र बिरुवा वितरण नगरिँदा कृषक मर्कामा परेका बेनपा ९ घतानका बसन्त शर्माले बताउनुभयो । बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको एशोसियसन अफ एग्रिकल्चर नेपाल (आन)ले कृषि वन कार्यक्रम अन्तरगत आवद्धता र ढुवानी खर्च वापत म्याग्दीका कृषकहरुबाट पैसा उठाएपनि विउ, बिरुवा वितरण गरेको छैन् । कम्पनीको बेनी स्थित शाखा कार्यालयका कर्मचारी बिष्णु धरलाले बैशाख पहिलो साता दिएको जानकारी अनुसार बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका एक हजार ४२ जना कृषकहरु आवद्ध भएका थिए । उनिहरुबाट बीस लाख रुपैयाँ भन्दा बढी संकलन गरेको थियो ।

संकलित पैसा र आश्वासन अनुसार काम नगरेपछि रिखार दैनिकले गत बैशाख ८ गते कृषकहरुको गुनासोका विषयमा समाचार प्रकाशन गरेको थियो । कर्मचारीहरु एक महिनायता कार्यालय बन्द गरेर भागेका पिडित कृषकहरुले बताएका छन् । आवद्धता शूल्क वापत पहिलो चरणमा पाँच सय र विउ उपलब्ध गराएपछि दश वर्षसम्मको लागि अग्रीम थप एक हजार पाँच सय रुपैयाँका दरले संकलन गरेका थिए । समूह बनाउन र कृषकबाट पैसा उठाउन कम्पनीले स्थानीय युवा युवतीहरुलाई परिचालन गरेको थियो । ‘कृषकहरुले एकैपटक सबै विउ, बिरुवा खोज्नुभएको होला, हामीले दश वर्षको अवधिमा मौसम अनुसारका बिउ, बिरुवा उपलब्ध गराउन ढुवानी शूल्क अग्रिम लिएका हौ,’ धरलाले भनेकी थिइन् ‘मागको आधारमा मौसम अनुसार फलफुल र तरकारीका बिरुवा उपलब्ध गराउछौ ।’

मंगलबार कम्पनीको कार्यालयमा पुग्दा बन्द थियो भने कर्मचारीको मोवाईलमा सम्र्पक हुन सकेन् । नेपालको ५८ जिल्लामा सञ्चालित कार्यक्रम अन्तरगत बाख्रा भैसी पाल्ने कृषकहरुलाई पहिलो पटक २५ हजार सम्म निब्र्यजी ऋण उलब्ध गराउने बताएका थिए ।तरकारी खेती र पशुपालनका अलावा जैविक विषादी, च्याउ खेती, चुरापोते बनाउने तालिम दिएको कर्मचारीहरुको भनाई थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले कृषकहरुलाई प्रलोभनमा पारेर कम्पनीले सरासर ठगी गरेको बताउनुभयो । ‘जिससमा आएका कर्मचारी र सञ्चालकलाई यस्तो ठगीधन्दा नगर्नुहोस भनेर डेढ वर्ष पहिलेनै भनेर फर्काएका थियौ,’ केसीले भने ‘तर कृषकहरुलाई ठगी गरेछन् ।’ कम्पनीका सञ्चालकलाई सम्र्पक र कानुनी दायरामा ल्याउन पहल गर्ने जिसस प्रमुख केसीले बताउनुभयो ।