कृषिको बजेट किसानको हितमा भएन

  • ३ श्रावण २०७६, शुक्रबार
  • 1881 पटक पढिएको

 

म्याग्दी, ३ साउन । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ । संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको छ । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच करोड २३ लाख ७९ हजार रुपैयाँ आएकोमा एक करोड ७२ लाख ४१ हजार खर्च भएको छ । प्रदेशबाट चार करोड १३ लाख १३ हजार रुपैयाँ आएकोमा एक करोड १५ लाख ३१ हजार रुपैयाँ खर्च भएको प्रमुख गोविन्दराज कोइरालाले जानकारी दिए ।

संघीय सरकारले पठाएका सात वटा मध्य बागबानि विकास, आलु तरकारी तथा मसला विकास, रैथाने बालि विकास र राष्ट्रिय आलु तरकारी तथा मसला विकास कार्यक्रमको एक रुपैयाँ पनि खर्च भएको छैन् । प्रदेश सरकारको कृषि वन प्रणाली प्रवद्र्धन, ब्यवसायिक केरा खेती प्रोत्साहन, विभिन्न बालीको पकेट क्षेत्र प्रर्वद्धन सहयोग र कृषि यान्त्रीकरण ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम कार्यान्वयन नहुँदा बजेट फिर्ता भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले भने संघीय सरकारका कार्यक्रमको ८२.२२ र प्रदेश सरकारका कार्यक्रमको ९२.८ प्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । दुई करोड बाईस लाख ४७ हजार रुपैयाँ बजेट आएकोमा एक करोड ९८ लाख ७१ हजार रुपैयाँ खर्च भएको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्यले बताए ।

दरबन्दि अनुसारका कर्मचारीको अभाव, कर्मचारी समायोजन, कार्यक्रम सञ्चालन सम्बन्धी कार्यबिधी आउन ढिलाई र स्थानीय तहसंग समन्वयको अभावका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख कोइरालाले बताए ।

कार्यालय प्रमुखको बेवास्ता र गैरजिम्मेवार तथा पूर्वाग्रही ब्यवहारका कारण कृषि क्षेत्रको विकास तथा कृषकहरुको सुबिधाका लागि आएको बजेट फिर्ता भएको कृषकहरुको गुनासो छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ढिलासुस्ती हटाएर सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउदै कृषकहरुलाई जागरुक बनाउन आग्रह गरेका थिए ।