गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)

  • २ श्रावण २०७६, बिहीबार
  • कमल खत्री
  • 2441 पटक पढिएको

कमल खत्री
बेनी २ साउन ।   मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माण योजना सञ्चालन भएसंगै अप्ठ्यारो ठाउँमा व्यवस्थित पदमार्ग बनेको छ भने स्थानीयलाई रोजगारिको अवसर समेत सिर्जना भएको छ ।

मुलुक संघिय संरचनामा रुपान्तरण भएपछि विकास निर्माण योजनाहरु समेत ग्रामीण भेगका स्थानीयको पहुँचसम्म पुग्न थालेका छन् । स्थानीय सरकारसंगै प्रदेश र संघिय सरकारले विभिन्न कार्यालय मार्फत खानेपानी, सिचाई, पदमार्ग, सडक, भवन, पहिरो नियन्त्रण, झोलुङ्गे पुल निर्माण लगायतका योजनाहरुमा गाउँ गाउँमा बजेट भित्रन थालेसंगै रोजगारीको अवसर समेत सिजर्ना हुन थालेको हो । गाउँमा भित्रिएको विकास निर्माण योजनाले खाली हात बस्नुपर्ने बाध्यता हटेको धवलागिरि गाउँपालिका–२ लुलाङका लाल बहादुर खड्काथोकीले बताउनुभयो  ।

‘‘ लघुजलविद्युत पुननिर्माण, झोलुङ्गे पुल निर्माण, पहिरो नियन्त्रण लगायतका योजनाहरुमा ठुलो मात्रामा बजेट आएको छ, काम गरेर खान्छु भन्नेलाई घरदैलोमै रोजगारीको अवसर सिर्जना भएको छ’’–उहाँले भन्नुभयो । विकास निर्माण योजनाहरु ग्रामीण भेगमा पुग्न थालेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जन गर्नतर्फ स्थानीय अग्रसर बनेका छन् । युवायुवति देखि बृद्धसम्मका व्यक्तिहरु समेत खालि हात बस्दैनन् । लुलाङको खोरिया स्थित कमेरो खोल्सामा गएको पहिरो नियन्त्रण योजनामा ढुंगा बोक्दै गरेका स्थानीय ७४ बर्षिय मन बहादुर पुर्जाले गाउँ जोगाउन सहयोग पुग्ने र काम गरे बापत पैसा पनि पाईने भएकाले करिब १ महिनासम्म नियमित काम गरेको बताउनुभयो ।

‘‘उमेर त आराम गरेर खाने हो, तर बसेर खाँदा शरिर झनै कमजोर भएको महसुस हुन्छ, बरु सकेको काम गर्दा नै आनन्द हुन्छ, यस्ता योजनाको लागि बजेट आउँदा गाउँका युवाहरुले पनि काम पाउँछन्’’–उहाँले भन्नुभयो । सडक लगायतका केही निर्माण योजनामा डोजरको प्रयोग बढेपनि अन्य विकास निर्माण योजनाहरुमा भने मानव श्रमको प्रयोग अनिवार्य हुन्छ । जिल्लाको अधिकाँश क्षेत्रमा भित्रिएका विकास निर्माण योजनाहरुमा स्थानीयबासीले नै योजनामा काम गर्ने प्रचलन रहेको छ ।

पूर्वाधार निर्माण योजनाहरुमा खासगरि दक्ष जनशक्ति नहुँदा कतिपय जनशक्ति बाहिरबाट लैजानुपर्ने बाध्यता समेत रहेको छ । गाउँमा भित्रिने बजेट कार्यान्वनयले स्थानीय स्तरमा विकासको पहुँच बढाउन थालेको मालिका गाउँपालिका– ५ मगरदाङका कुलबहादुर घर्ति मगरले बताउनुभयो । देउताभिर गुफा जाने पदमार्गको लागि मालिका गाउँपालिकाबाट विनियोजन भएको रु ५ लाख र गण्डकी पदेश सरकारको वन, वातावरण तथा पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माणमा स्थानीयबासीले नै काम गरेको उहाँले बताउनुभयो ।

उहाँले सो योजनामा स्थानीय ३० देखि ३५ जनाले करिब तीन महिना सम्म रोजगारी पाएको समेत बताउनुभयो । दुर्गम बस्तीमा रहेका समस्याहरुलाई पहिचान गरि आबश्यक पूर्वाधार बनाउन जिल्लामा रहेका स्थानीय तहहरुले प्राथमिकतामा राखेका छन् । पूर्वाधार निर्माणका योजनाहरुले स्थानीय समस्याहरुको सम्बोधन र केही हदसम्म भएपनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले त्यसतर्फ प्राथमिकता दिईएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताउनुभयो । ‘‘यस बर्ष सञ्चालित योजनाहरुको समग्रमा हामीले स्थलगत अनुगमन गरेका छौँ, बजेटले ग्रामीण बस्तीस्तरसम्म विकास र रोजगारी भित्रिएको पाएका छाँै’’–उहाँले भन्नुभयो ।
                     आमाहरु चुलोचौकोको घेराबाट आयआर्जनमा

दुर्गम र ग्रामीण भेगमा महिलाहरुले आयआर्जन मुलक काम गर्न पाउनु निकै दुर्लभ हो । घरायसी र कृषिजन्य काममा मात्रै सिमित रहने महिलाहरु हिजोआज भने विकास निर्माण योजनाका काममा खटिएर आयआर्जन समेत गर्न थालेका छन् । झोलुङ्गे पुल निर्माणको लागि लुलाङ्गदेखि पुलको सामान बोक्न आएकी धवलागिरी गाउँपालिका–१ गुर्जाकी खगी विकले विकास निर्माणले सुविधा र आम्दानीको अवसर बढेको बताउनुभयो । ‘‘पहिले काम गर्नको लागि पैसा जाँदैनथ्यो, काम गरेपनि गाउँले आफैले निःशुल्क काम गर्नुपथ्र्यो, अहिले पुल, बाटो, भवन लगायतका काम गर्न पैसा आउँछ, हामी खुसी छाँै’’–उहाँले भन्नुभयो ।

विकास निर्माण योजनाले खगी जस्तै धेरै महिला र आमाहरु अहिले चुलोचौकोको घेराबाट बाहिर निस्कीएर आयआर्जनमा लाग्ने अवसर सिर्जना भएको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले महिलाहरु पनि विकास निर्माणका योजनाहरुमा सहभागि हुने क्रम बढेको र रोजगारीको कारण आयआर्जनमा समेत टेवा पुगेको बताउनुभयो । उहाँका अनुसार, झोलुङ्गे पुलको सामान ढुवानी, पदमार्ग निर्माण खेलमैदान निर्माण लगायतका पूर्वाधार निर्माणका योजनामा पुरुषसंगै गाउँका महिला र आमाहरु समेत सक्रिय रुपमा सहभागि हुने गरेका छन् ।
                                  सुविधा र पैसा पाउँदा मख्ख

‘‘पहिले खोलाहरुमा वारपारको लागि काठको मुडा हाल्ने गथ्र्यौ । त्यो पनि हरेक बर्ष खोलाले बगाउँथ्यो । बर्खायाममा साँघु बगाउँदा कहिलेकाँही त वारपार नै ठप्प हुन्थ्यो ।’’– गुर्जाका ६५ बर्षिय भिम छन्त्यालले बिगत सम्झिनुभयो । बिगत र वर्तमानमा धेरै परिवर्तन आएको अनुभव सुनाउँदै छन्त्यालले विकासले दुर्गम बस्तीमा सुविधा थपिएको बताउनुभयो । पहिले बाटो बनाउने लगायतका अधिकाँश काम झारा (श्रमदान) बाट नै हुने गरेपनि पछिल्लो समय भने पदमार्ग लगायतका योजनामा बजेट भित्रिन थालेपछि विकासले गाउँमा सुविधा र रोजगारी बढाएको उहाँले बताउनुभयो ।

अधिकाँश खोलाहरुमा झोलुङ्गे पुल बन्ने क्रम बढ्दो क्रममा रहेको छ भने अप्ठ्यारा ठाउँहरुमा समेत पदमार्ग निर्माण हुन थालेपछि गुर्जा लगायतका दुर्गम बस्तीका स्थानीय खुसी भएका छन् । कतिपय विद्यालय उमेरका बालबालिकाहरुले समेत विकास निर्माण योजनामा विदाको दिन काम गरेर पढाई खर्च जुटाउने गरेका छन् । झोलुङ्गे पुल निर्माणमा लुलाङदेखि सामान बोक्न आएका गुर्जाका लजिम छन्त्यालले विदाको समयमा गाउँमा हुने आयआर्जनमुलक कार्यहरुमा काम गर्ने गरेको बताउनुभयो । कक्षा १० मा अध्ययन गर्दै आएका उनले लुलाङदेखि एक भारी सामान गुर्जा पु¥याए बापत रु ३ हजार पारिश्रमिक पाईने गरेको समेत जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l