पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान

  • ३१ असार २०७६, मंगलवार
  • 2284 पटक पढिएको

बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।


दुर्घटना न्युनीकरण र लागु औषध कारोबारी पक्राउ गर्न योगदान गरेको आधारमा पौडेललाई असार महिनामा जिल्लाका सबै प्रहरीहरु मध्य उत्कृष्टको रुपमा सम्मान गरेको प्रनाउ मरासिनीले बताए । गत जेठ ३२ गते पौडेलको सूचनाको आधारमा बेनपा–७ मंगलाबाटबाट दुई युवती सहित छ जनालाई लागु औषध सहित पक्राउ गरिएको थियो । प्रहरी जवान पौडेलले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक ब्यवस्थापनमा समेत योगदान गरेको प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ मा म्याग्दीमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७५÷७६ मा दुई जनाको मृत्यु भएको छ । प्रहरी कर्मचारीको प्रोत्साहनका लागि जिल्ला प्रहरी कार्यालयले मासिक कामको मूल्याङ्कनको आधारमा गत बैशाख महिनादेखि प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गर्न थालेको छ ।