ओढारमा बस्दै आएका पुर्जालाई घर बनाउने तयारी, दाजुभाईले पाए नागरिकता ( भिडियो सहित)

  • ३० असार २०७६, सोमबार
  • कमल खत्री
  • 3011 पटक पढिएको

कमल खत्री

म्याग्दी ३० असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ्गमा बिगत एक महिनादेखि ओढारमा रात कटाउँदै आएका सुकुम्बासी हिराबहादुर पुर्जा र उनको दाईको लागि आवास बनाउने तयारी गरिएको छ । करिब ५ दशक देखि तिप्ल्याङ्ग क्षेत्रमा बसोबास गर्दै आएका ६६ बर्षिय हिराबहादुर गत जेठदेखि गाउँमाथि रहेको भिरको ओढारमा बस्दै आएका हुन् । कोठा भाडामा लिएर बस्दै आएका ७२ बर्षिय दाई तुलबहादुर पुर्जासंग भनाभन भएपछि हिराबहादुर दाजुसंग अलगीएर ओढारमा बस्न बाध्य भएका हुन् ।


आफ्नै घरजग्गा नभएको र साहारा लिने ठाउँ नभएपछि ओढारमा बस्नुपरेको बृद्ध पुर्जाले बताए । विगत करिब दुई महिनादेखि आफुले ओढारमै पकाउने, खाने र सुत्ने गर्दै आएको उनले बताए । ‘‘ के पकाउने ? के खाना खाने ?टुंगो हुँदैन, पानी पर्दा सुत्न पनि पाउँदीन, ओढारमा रात कटाउन निकै गाह्रो हुँदो रहेछ’’–उनले भने । भाडा तिरेर बस्न सक्ने अबस्था नभएपछि जंगलको बिचमा भेटिएको ओढारमा बस्दै आएका पुर्जा र उनका दाई पूर्ण रुपमा सुकुम्बासी रहेको रघुगंगा गाउँपालिका– १ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

उनीहरुको बुबा आमा र आफन्त समेत कोहि नभएको र मजुदुरी गरि जिविका चलाउने गरेका छन् । घना जंगलको बिचमा रहेको ओढारमा सहयोगदाताले दिएको त्रिपालको छेकबारमा पुर्जाले बर्षातलाई कटाउने गरेका छन् । सामान्य लत्ताकपडा र खानाको समेत अभाब खेपेका पुर्जाले जंगल र ओढार भएकाले त्रास र डरका बिच रात कटाउने गरेको दुखेसो पोखे ।


                                       गाउँपालिकाले घर बनाईदिने


ओढारमा बस्दै आएका हिराबहादुर र उनका दाई तुल बहादुरको घर नभएकाले रघुगंगा गाउँपालिकाले घर बनाईदिने अभियानको सुरुवात गरेको छ । ओढारमा बस्दै आएका पुर्जाको अबस्थाबारे स्थलगत रुपमा बुझेपनि गाउँपालिकाले उनीहरुको लागि घर बनाईदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए । रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको गाउँपालिका अध्यक्षसंग सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्र्तगत आईतवार २० थान घर छाउने जस्तापाता सहयोग गरिसकिएको अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले पुर्जा दाजुभाईको घर निर्माणको लागि रु १ लाख बजेट समेत विनियोजन गरिसकेको छ । गाउँपालिकाबाट विनियोजन भएको बजेटबाट ब्लक, काठ लगायतका सामाग्री खरिद गरिने र स्थानीयबासीले श्रमदानमा घर बनाईदिने तयारी गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिए । उनीहरुको घर निर्माणको लागि तिप्ल्याङबासीले निशुल्क रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाईसकेका छन् ।


७२ बर्षमा पहिलो पटक नागरिकता
उमेरले बृद्ध अबस्थामा पुगेपनि नागरिकता नहुँदा पुर्जा दाजुभाई राज्यको सुविधा लिनबाट बञ्चित भएका थिए । भाई हिराबहादुरले जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरको क्रममा नागरिकता बनाएपनि हराएको र दाईको नागरिकता नै नभएपछि गाउँपालिका र वडा कार्यालयको पहलमा सोमबार उनीहरु दुबै दाजु भाईले नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पुर्जा दाजुभाईलाई नागरिकता प्रदान भएसंगै उनीहरुको लागि राज्यको सुविधा लिन पाउने बाटो खुलेको छ । ‘‘ अहिलेसम्म नागरिकता बनाएको थिईन, आज नागरिकता बन्यो’’–७२ बर्षिय तुलबहादुरले खुसी साट्दै भने ।

तस्बिरः दल बहादुर तिलिजा, कमल खत्री र सामाजिक सञ्जाल ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l