ओखरबोटका बेसाहारा बालकको पढ्ने धोको अधुरै (भिडियो सहित)

  • २७ असार २०७६, शुक्रबार
  • 3740 पटक पढिएको

बेनी, २७ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट मटौकाका मनोज श्रीपालीको अध्ययन गर्ने चाहना अधुरो भएको छ । अभिभावकविहिन ११ बर्षिय श्रीपाली संरक्षकत्व नपाउँदा सडकमा भौतारिएर हिड्ने गरेका छन् । श्रीपालीको जन्म लगत्तै उनका बुबा भारततर्फ गएपछि घर फर्किएका छैनन भने दोस्रो विवाह गरेकी आमाको समेत निधन भैसकेको छ ।

बृद्ध हजुरबुबाको पालनपोषणमा हुर्किएका श्रीपाली हजुरबुबाको समेत केही बर्ष अघि निधन भएपछि बेसाहारा बन्न पुगेका हुन् । अहिले दरबाङ बजार क्षेत्रमा भेटिने उनले आफ्ना साथिहरुले जस्तै पढ्ने इच्छा रहेको बताए । ‘‘ कसैले काम लगाए गर्न सकेको गर्छु, मागेर खाने हो, कहिले पाईन्छ कहिले पाईदैन’’–उनले भने । श्रीपाली कहिले पेटी त कहिले पार्किङ्ग गरि राखेका सवारी साधनमा पल्टीएर रात कटाउने गरेका छन् ।

आफ्नो बुबाको नाम इन्द्र बहादुर र आमाको नाम चिरवती रहेको बताउने श्रीपालीलाई अध्ययन गर्ने अवसर सिजर्ना गरे उनको अन्धकार भविश्य उज्यालोतर्फ मोडिने ओखरबोटका ज्ञानेन्द्र रसाईली बताउँछन् । सवारी चालक समेत रहेका रसाईलीले उनलाई गाउँकै स्कुलमा पठनपाठनको बन्दोबस्त गर्न पहल गरेपनि उचित वातावरण सिर्जना नहुँदा समस्या भएको बताए ।