फलामेडाँडामा पाहुना घर

  • २६ असार २०७६, बिहीबार
  • 3903 पटक पढिएको

 

बेनी २६ असार । करबाकेली पदमार्ग अन्तरगत जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । गाउँको भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुबिधाका लागि स्थानीय वासिन्दाहरुले सामुदायिक पाहुनाघर बनाएका हुन् । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा अवस्थित फलामेडाँडा लगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीय स्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पाहुनाघरमा एक दिनमा बीस जनालाई खानेबस्ने सुबिधा उपलब्ध गराइने लोप्रेका पुर्ख पुनले जानकारी दिनुभयो । आठ कोठे पाहुना घर र सभाहल सहितको डाइनिङ हलका लागि दुई वटा भवन बनाइएको छ ।प्रदेश सरकारको दश लाख र जलजला गाउँपालिकाको एक लाख रुपैयाँ अनुदानमा पाहुनाघरको भवन बनाइएको हो । यसैगरी स्थानीय तुलबहादुर पुनले श्रीमती बहुमती पुनको पुण्य स्मृतिमा १९ लाख रुपैयाँ खर्चेर डाईनिङ हल र बाह्य खोप केन्द्रका लागि अर्को भवन बनाउनुभएको छ ।

‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौ,’ पुनले भन्नुभयो ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खानेबस्ने समस्या नहुने र आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौ ।’पहाडको टुप्पोमा समथर फाँट रहेको फलामेडाँडाबाट सुर्योदय, म्याग्दी, पर्वत र बागलुङका बस्ती, धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरि हिमाल र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

डाइनिङ हल र खोप केन्द्रको भवन निर्माणका लागि तुलबहादुर पुनले १९ लाख २५ हजार, स्वास्थ्य कार्यालयले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए भने स्थानीयबासीले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका निर्माण समितिका चक्र पुनले बताए । पmलामेडाँडामा प्रस्तावित भ्यु टावर सम्म जाने ३६० मिटर ढुङ्गे सिढी सहितको पदमार्ग समेत बनेको छ । प्रदेश सरकारको चार लाख पचास हजार, गाउँपालिकाको एक लाख पच्चिस हजार अनुदान र समुदायको एक लाख पन्ध्र हजार चन्दा सहयोगमा पदमार्ग निर्माण भएको हो ।

पदमार्गको मध्य भागमा प्रेमबहादुर फगामीको स्मृतिमा उनका परिवारले विश्राम गर्ने चौतारी बनाउनुभएको छ । यसैगरी स्थानीयबासीको अगुवाइमा फलामेडाँडामा हालै धौलागिरी आमा समूहको भवन समेत निर्माण भएको छ ।