राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

  • २६ असार २०७६, बिहीबार
  • 2220 पटक पढिएको

 

बेनी २६ असार । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा बुधबार बेनीमा सम्पन्न पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ ।१३ स्वर्ण, ११ कास्य र ३ रजत पदक सहित वेष्ट पोइन्टले उपाधि जित्दा १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याएको बेनीकै माउण्ट एभरेष्ट आवसीय मावि उपविजेता भयो ।

सामुदायीक विद्यालयहरुबाट ७ स्वर्ण, २ कास्य र १ रजत पदक सहित बेनीको प्रकाश माविले तेस्रो स्थानमा चित्त बुझाएको छ । ४ स्वर्ण र १ कास्यसहित वेष्टपोईन्टका इश्वर सेन्चुरी र सोही विद्यालयकी आईसा केसीले ३ स्वर्ण जितेर प्रतियोगिताका उत्कृष्ट खेलाडी बने । संघिय संरचना अनुसार नगररगाउँपालिका स्तरमा संञ्चालन गरिएको प्रतियोगिताबाट पहिलो र दोस्रो भएका विद्यालय र खेलाडी विच जिल्ला तहमा प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगिताको मुख्य आकर्षण मानिने भलिवल खेलको छात्रा तर्फ माउण्ट एभरेष्ट आवसीय माविलाई ३–१ सेटमा पराजित गरी अन्नपूर्ण गाउँपालिकाको ज्ञानप्रकाश माध्यामिक विद्यालय पहिलो भएको छ ।

त्यसैगरी छात्र भलिवल तर्फ मंगला गाउँपालिकाको मंगला माध्यामिक विद्यालयलाई ३–१ सेटमा पराजित गरी बेनीको माउण्ट एभरेष्ट आवसीय मावि पहिलो भएको छ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, उसु, कराते र तेक्वान्दो बिधाका खेल खेलाइएको थियो । पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयले क्रमश शिल्ड, प्रमाण–पत्र, मेडल र नगद १५ हजार, १२ हजार र ९ हजार नगद हात पारेका छन् । गण्डकी प्रदेशका सांसद बिनोद केसीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो ।

जिल्ला स्तरीय प्रतियोगिताको विभिन्न बिधामा प्रथम र दितृय हुने खेलाडीहरुलाई बिहीबार देखि पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा छनौट गरेर पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।

आर्थिक वर्षको अन्त्य, प्रतिकुल मौसम, छोटो तयारी र विद्यालयहरुको बर्खे बिदाका कारण प्रतियोगिता प्रभावकारी बन्न नसकेको खेलाडीहरुले बताएका छन् ।