राहुघाटको कटानले गलेश्वर बजार र बेलिब्रिज जोखिममा (भिडियो/तस्बिर) सहित

  • २३ असार २०७६, सोमबार
  • कमल खत्री
  • 3059 पटक पढिएको

म्याग्दी २३ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट बजार नदी कटानको चपेटामा परेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर बजार र राहुघाट जोड्ने बेलीब्रिज संगै दुबै तर्फका बस्ती जोखिममा परेका हुन् । आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि निर्माणधिन पक्की पुलमा समेत क्षती पु¥याएको छ ।

निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीय समस्यामा परेका छन् । बाढीले तल्लो गलेश्वर बजार संगै राहुघाट बस्ती र बेलिब्रिज जोखिममा परेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए ।

बाढीले राहुघाट तर्फ पनि बेलिब्रिजको पर्खाल छेउमा भत्कीएको छ । विद्युतको पोल कटानका कारण नयाँ ठाउँमा सारिएको छ । निर्माण व्यवसायीले पुल निर्माणमा ढिलाई र संरक्षणको काममा बेवास्ता गरेकाले कटानको जोखिम बढेको स्थानीयबासी दिपक कार्कीले बताए ।सडक र पुल निर्माणमा भएको चरम ढिलासुस्तीबारे पटक पटक सम्बन्धित निकायको ध्यानकर्षण गराउँदा समेत अटेर गरेकाले विपदको जोखिम र निर्माणधिन पुलमा क्षती हुने खतरा बढेको उनको भनाई छ । बेनी–जोमसोम–कोरला सडकको प्रवेश बिन्दुमा रहेको बेलिब्रिज जोखिममा परेपछि बर्षायाममा सवारी आगमन प्रभावित हुने जोखिम बढेको छ ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले कटान नियन्त्रण गरि थप क्षति हुन नदिनका लागि ग्यावियन पर्खाल निर्माणको काम सुरु गरिएको जानकारी दिए । बस्तीतर्फ खोलाको धार परिर्वतन गराउने नदीको बिचमा रहेको ढुङ्गा फुटाउने विषयमा सोमबारको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा छलफल भएको छ ।

सोमबार जोखिममा परेको गलेश्वर क्षेत्रको सम्बन्धमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, नेकपा रघुगंगाका अध्यक्ष दिपक कार्की लगायतले स्थलगत निरिक्षण गरि निर्माण व्यवसायिलाई तत्काल कटानलाई रोकथामतर्फ काम अघि बढाउन निर्देशन समेत दिएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l