गलेश्वर बजार कटानको जोखिममा

  • २३ असार २०७६, सोमबार
  • 2043 पटक पढिएको

 

गलेश्वर २३ असार । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर बजार र बेलीब्रिज जोखिममा परेको छ ।आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि तल्लो गलेश्वर बजारको बस्ती र बेलिब्रिज जोखिममा परेको हो । निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार परिवर्तन गरेको छ ।

यसैगरी रघुगंगा गाउँपालिकाको राहुघाट तर्फ पनि बेलिब्रिजको पर्खाल छेउमा भत्कीएको छ । विद्युतको पोल कटानका कारण ढलेको छ । निर्माण व्यवसायीले पुल निर्माणमा ढिलाई र संरक्षणको काममा बेवास्ता गरेकाले कटानको जोखिम बढेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

कटानका कारण बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा ३ राहुघाटका करिब पचास घरधुरी जोखिममा परेका छन् । बेनी–जोमसोम–कोरला सडकको प्रवेश बिन्दुमा रहेको बेलिब्रिज जोखिममा परेको छ ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले कटान नियन्त्रण गरि थप क्षति हुन नदिनका लागि ग्यावियन पर्खाल निर्माणको काम सुरु गरिएको बताउनुभयो । बस्तीतर्फ खोलाको धार परिर्वतन गराउने नदीको बिचमा रहेको ढुङ्गा फुटाउने विषयमा सोमबारको जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भएको थियो । तस्विर माेहन केसीकाे फेसबुकबाट ।