बाढीले बगाएको दरखोला लघुजलविद्यूत पुननिर्माण सुरु (फोटो फिचर)

  • १३ असार २०७६, शुक्रबार
  • कमल खत्री
  • 3748 पटक पढिएको

कमल खत्री
म्याग्दी १३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ४ बर्ष अघि बाढी र पहिरोले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनालाई पुननिर्माण सुरु गरिएको छ । बाढीले लघुजलविद्यूत बगाएपछि अन्धकारमा बस्दै आएका वडा नम्बर २ को लुलाङ, लमसुङ, खोरीया लगायतका ३४० बढी घरधुरीको सुविधाको लागि परियोजनालाई नयाँ पूर्वाधार सहित पुननिर्माण सुरु गरिएको हो । धवलागिरि गाउँपालिकाको रु ५० लाख , बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको रु ८६ लाख लागत र उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट आयोजनाको पुननिर्माण सुरु गरिएको हो ।

आयोजनाको क्षमता बढाएर ४३ किलोवाट क्षमतामा पुननिर्माण सुरु भएको यस लघुजलविद्यूत परियोजनाको कामलाई तिब्रता दिईएको उपभोक्ता समितिका सचिब लालबहादुर खड्काथोकीले जानकारी दिए । उनका अनुसार, मुहान र पाइपलाईनको काम अन्तिम चरणमा पुगेको छ भने विद्यूतगृहको काम समेत सुरु गरिएको छ । पहिले यस आयोजनाको क्षमता २५ किलोवाट क्षमताको रहेको थियो । यस आयोजनामा उपकरण जडानको सम्झौता ओसिन पावर सर्भिस प्रा.लि.ले गरेको छ ।

परियोजना निर्माण कार्यमा खटिएका प्राविधिक हेमराज रेग्मीले आयोजनाको करिब ४५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । खबाङको दोभानमा बाँध रहेको यस परियोजनामा ७ सय २५ मिटर लामो पाइपलाइन मार्फत ल्याईने पानीलाई ६२ मिटर अग्लो हेडबाट मरेनीको फेदीमा दरखोलाको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । मुहानतर्फको अधिकाँश काम सम्पन्न भैसकेको छ । पानी ल्याउने पाइपलाईनमा ८६ मिटर फलामे र ६ सय ६३ मिटर प्लाष्टिक पाईप विस्तार गर्ने काममा अधिकाँश काम सकिएको उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर पुर्जाले बताए । विद्युत गृहमा टर्वाइन जडान संगै अन्य पूर्वाधार निर्माणको काम थालिएको उनले जानकारी दिए ।

विद्यूत उत्पादनमा एक महिना बढी लाग्ने
बैशाख देखि पुननिर्माण सुरु भएको यस आयोजना निर्माण सम्पन्न गर्न अझै साढे महिना बढी समय लाग्ने उपभोक्ता समितिले जनाएको छ । लुलाङमा तत्काललाई लघुजलविद्युत र निकट भविश्यमै केन्द्रिय प्रशारण लाईनको समेत सुविधा पु¥याउने गरि गाउँपालिकाले बजेट विनियोजन र सम्बन्धित निकायमा पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् । उनका अनुसार, गाउँपालिका मार्फत विनियोजन भएको रु ५० लाख बजेट आयोजनाको पुननिर्माण संगै गाउँमा नयाँ फलामे पोल विस्तारमा परिचालन गरिएको छ ।

लघुजलविद्यूत बगाएपछि चार बर्षदेखि अन्धकारमा
दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह पुरिनुका साथै नहर बाढीले बगाएपछि चार बर्षदेखि लुलाङ, लमसुङ र खोरिया गाउँ अन्धकार बनेका छन् । रातमा उज्यालोको अभाबमा स्थानीयले टुकीको भरमा गुजारा चलाउँदै आएका छन् । आर्थिक रुपमा सक्षम परिवारले सोलार जडान गरेपनि अधिकाँश घरधुरी विपन्न रहेकाले टुकीकै भरमा गुजारा चलाउन बाध्य भएको वडा अध्यक्ष गमप्रसाद विकले बताए ।

उनले गरिब र विपन्न परिवारका बालबालिकालाई उज्यालोमा घरायसी काम गर्नुपर्ने बाध्यता हुने र रातमा घरमा उज्यालो नहुने समस्याले अध्ययनमा समस्या भएको बताए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l