जलजलाको नीति तथा कार्यक्रम पारित

  • ११ असार २०७६, बुधबार
  • 1603 पटक पढिएको

बेनी ११ असार । जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार भएको छैटौ गाउँसभामा अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । अध्यक्ष मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको कार्यपालिकाका प्रवत्ता देवेन्द्र भण्डारी (रवी)ले बताउनुभयो ।

पूर्वाधार विकास, कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र गाउँमै आयआर्जन तथा रोजगारीको अवसर सिर्जना गरेर बसाईसराई रोक्ने र गाउँ फर्काउन प्राथमिकता दिने अध्यक्ष मल्लले बताउनुभयो ।

पूर्वाधार तर्फ गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे र ढलान गर्ने, कालीगण्डकी लोकमार्गलाई मोहनचोक हुदै मल्लाज बासखर्क भएर घुमाउने ताल जोड्ने, गाउँपालिका र वडा कार्यालयहरुको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्ने नीति लिएको छ ।

सिचाई सुबिधा विस्तार, कृषिमा ब्यवसायीकरण, यान्त्रीकरण, बाख्रा र गाइभैसीपालनमा प्रोत्साहनका साथै नश्ल सुधार, चिस्यान केन्द्र निर्माण र बाँसखर्कको सुन्तलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउन पहल गर्ने भएको छ ।

जलजला, फलामेडाँडा, धाइरीङ भुमेलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउने, होमस्टे सञ्चालनमा जोड दिने, कालीगण्डकीमा हिउँदको समयमा ¥याफटिङ सञ्चालन गर्ने नीति लिएको छ । काठका विद्युतका पोल विस्थापित गर्ने र ५०.५ मेगावाटको बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन समन्वय गर्ने जनाएको छ ।

मुस्ताङ जाने बाटोमा पर्ने जलजलामा ठूला उद्योग र पर्यटन विकासका लागि होटल व्यवसायमा निजी क्षेत्रको लगानी भित्र्याउन अनुकुल वातावरण तयार पार्न पाँच वर्षसमम कर छुट गर्ने, अल्लोका कपडा, नेपाली कागज, भाङग्रा, भोला सालको टपरी, क्यान्सी, जुस, अचार उद्योग खोल्न प्रोत्साहन गर्ने र आइई गरेर ढुङ्गा कटिङ उद्योग सञ्चालन गर्ने भएको छ ।

५ वर्षभित्र सबै वडामा इन्टरनेट विस्तार गर्ने, कटुवाल प्रथालाई व्यवस्थित र पारिश्रमिक दिने, सञ्चार माध्यमसंग सहकार्य गर्ने नीति लिएको छ । गरिब, दलित, विपन्न महिला एकल महिला, फरक क्षमता, जनजाती, जेष्ठ नागरिक बेरोजगारलाई लक्षित गरेर गाउँपालिका अध्यक्ष हातेमालो कोष स्थापना गर्ने भएको छ ।

आगामी वर्षलाई व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य एवं सरसफाइमा ध्यान दिदै “सफा शौचालय, सफ गाउँघर, बनाउने हाम्रो ध्यान, सम्बृद्ध नमुना जलजला निर्माणमा हाम्रो अभियान” भन्ने नारा तय गरेको छ । घरघरमा सफा र स्वच्छ खानेपानी सुबिधा पु¥याउन प्रदेश र संघीय सरकारसंग सहकार्य गर्ने, मल्लाज, बगरफाँट, पर्वत बेनी, मिलनचोक, लस्ती, फोसे हुदै खनियाघाट क्षेत्रको फोहोर व्यवस्थापन गर्न ट्याक्टर व्यवस्था गर्ने जनाएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग, शिक्षक कर्मचारीको क्षमता विकास, विद्यार्थीहरुबीच आन्तरिक प्रतिस्पर्धा, विद्युतीय हाँजिरी, अग्रेजी माध्यमबाट पठनपाठन सञ्चाल गर्ने तयारी गरेको छ । सबै स्वास्थ्य चौकीमां बर्थीङ सेन्टर स्थापना, स्वास्थ्य शिरि सञ्चालन, एम्बुलेन्स र मिलनचोकमा सुबिधासम्पन्न प्रसुति गृह सञ्चालन गर्ने भएको छ ।

युवा युवतीहरुलाई सिटिइभिटीसंगको समन्वयमा सिपमुलक तालिम सञ्चालन, विपद् व्यवस्थापन कोष स्थापना गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउनन नागरिक र प्रबिधिमैत्री बनाउने अवधारणा अघि सारेको छ ।

गाउँसभाका सदस्यहरु प्रकाश जिसी, टकबहादुर पुन र चन्द्रबहादुर ले कागजमा मात्र नभएर योजनालाई ब्यवहारमा उतार्न, सूचना प्रवाहमा ध्यान दिन सुझाव दिएका थिए । नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पार्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

बस्ती र वडा स्तरबाट माग भएका योजनाहरुलाई विषयगत समितिमा छलफल गराई योजनामा समावेश गरेर बजेट बिनियोजन गरिने उपाध्यक्ष सिमा गर्बुजा पुनले बताउनुभयो ।