मालिका गाउँपालिकाले ल्यायो करिब चालीस करोडको बजेट

  • ११ असार २०७६, बुधबार
  • 2722 पटक पढिएको

 

दरवाङ ११ असार । ग्रामिण सडक सुधारलाई प्राथमिकता दिएको म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब चालीस करोड रुपैयाँको बजेट पारित गरेको छ ।
दरवाङमा मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले प्रस्तुत गर्नुभएको ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँको बजेट पारित भएको हो । चालुतर्फ २४ करोड ७४ लाख र पुजीगततर्फ १५ करोड ९४ लाख रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षको चालु शिर्षकको बजेटबाट प्रशासनिक प्रकृतिका कार्यका लागि पाँच करोड ६० लाख रुपैयाँ बिनियोजन गरेको छ ।


संघीय सरकारको वित्तिय समानीकरण आठ करोड ३२ लाख, शसर्त अनुदान १२ करोड ८९ लाख, संघीय विभाज्य कोषको छ करोड ९५ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान एक करोड २१ लाख ४५ हजार, प्रदेशको सशर्त एक करोड, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने चार करोड र सामाजिक सुरक्षा भत्ता चार करोड ९० लाख र आन्तरिक आम्दानी ३५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा ३७ करोड ७१ लाख २६ हजार ९६ रुपैयाँ बिनियोजन गरेको मालिकाले जेठ मसान्तसमम ६८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका लागि गौरवका योजनाको रुपमा तीन करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको छ । “मेरो सडक मेरो पनी लगानी, गाडी नचल्दा हुन्छ हैरानी” भन्न नाराका साथ सडकलाई नियमित सञ्चालनका लागि आकस्मिक कोष स्थापना, सडक, भवन निर्माण र अन्य पूर्वाधार निर्माणका लागि दुई करोड ३० लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको जग्गा खरिदका लागि एक करोड, वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न ३५ लाख बिनियोजन गर्दै योजनाका लागि प्रदेश र संघीय सरकारसंग पहल गर्ने निर्णय गरेको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा सञ्चार माध्यमको पहुँच विस्तारका लागि धवलागिरी र मंगला गाउँपालिकासंग समन्वय गरेर एफ एम रेडियो सञ्चालन गर्ने नीति लिएको मालिकाले स्थानीय सञ्चार माध्यममा हेलो मालिका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


मालिकाले शैक्षिक क्षेत्रसंग सम्बन्धी अध्यक्षसंग शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्न ३५ लाख बिनियोजन भएको छ । जस अन्तरगत माध्यमिक विद्यालयमा इन्टेरनेट जडान, इलर्निङ, उत्कृष्ट शिक्षक र दलित जेहेन्दार विद्यार्थीलाई पुरस्कार, अपाङ्ग जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रम समावेश गरिएको छ । सांस्कृतिक, खानेपानी, सरसफाई सम्बन्धी योजनालाई असी लाख र बालमैत्री गाउँपालिका घोषणा तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन दश लाख बिनियोजन भएको छ ।


शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम सञ्चालन गर्न चालीस लाख बिनियोजन गरेको छ । मातृ तथा बालमृत्युदरलाई कम गर्न उपाध्यक्षसंग स्वास्थ्य तथा सरसफाई कार्यक्रम सञ्चालन गरि गर्भवती महिलालाई निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थामा प्रसुती गराउनेलाई सुत्केरी प्रोत्साहन भत्ता दिने, पोषणा सुधार कार्यक्रम सञ्चालन गर्न बीस लाख बिनियोजन भएको छ ।
एक वटा पालिका स्तरीय नमुना खेलमैदान निर्माण गर्ने, अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न सात लाख पचास हजार, सात वटै वडामा युवा लक्षित रोजगार कार्यक्रमलाई बीस लाख बिनियोजन भएको छ । घरेलु हिंसा, मदिरा जन्य पदार्थको प्रयोग न्युनीकरणका लागि दश लाख, विपन्न परिवार आवास कार्यक्रम मार्फत जग्गा बिहिनको घर बनाउन १५ लाख बिनियोजन भएको छ ।
कृषि क्षेत्रमा एक गाउँ एक उत्पादन कार्यक्रम, बैदेशिक रोजगारीबाट फर्कीएका युवा उद्यमीलाई प्रोत्साहन, कृषि औजार, विउ, बिरुवा, मलमा अनुदान दिन असी लाख बिनियोजन भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र सिपको प्रयोग गरि आयआर्जन सुधारका लागि उपाध्यक्षसंग उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । विपद् व्यवस्थापन, दल निकास, नदी नियन्त्रणका लागि ४५ लाख र संस्थागत विकासका कार्यक्रमका लागि २६ लाख बिनियोजन भएको छ ।


गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विगत दुई वर्षको अनुभव, बस्ती स्तरबाट आएको माग र आवश्यकताका आधारमा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको बताउँदै यसको सफल तथा प्रभावकारी कार्यान्वयनमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेपछि कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्माले बताउनुभयो ।