बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट अनिश्चित , मेयर र कार्यपालिका सदस्यहरु विभाजित

  • १० असार २०७६, मंगलवार
  • 2814 पटक पढिएको

म्यागदी, १० असार । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था भएपनि म्याग्दीको बेनी नगरपालिकामा भने अन्यौलता छाएको छ । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच उत्पन्न विवादलाई देखाउँदै नगरप्रमुख श्रेष्ठले नगरसभा नै आह्वान नगरेपछि मंगलवार बेनी नगरपालिकाको नगरसभा नै बस्न सकने ।

आन्तरिक गतिरोध अन्त्य नहुँदा नगरपालिका समयमै आगामी आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेट ल्याउन असफल भएको हो । असार १० गतेभित्रै नीति, कार्यक्रम तथा बजेट सभामा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई समेत अटेर गर्दै नगरसभा आह्वान नभएपछि बेनी नगरपालिकाको चौतर्फि रुपमा आलोचना भएको छ । आन्तरिक विवादलाई देखाएर समग्र नगरबासीको विकास र समृद्धिको चाहनलाई कुण्ठित पार्ने गरि नगरपालिकालाई बन्धक बनाउनु नगरपालिकाका प्रमुखको गैरजिम्मेवारपनि भएको नागरिक संघ संस्थाहरुले गुनासो गरेका छन् । म्याग्दी उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाहरुले नगरपालिकाको प्रवेशद्धारामा १० गतेनै बजेट ल्याउन र नआउने भए यथार्थ कारण देखाउन माग गर्दै ध्यानकर्षण व्यानर टाँस गरेका छन् ।

गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी नियुक्त गर्ने बिषयमा विवाद भएपछि मेयर श्रेष्ठले बिचैमा बैठक स्थगत गर्न भन्दै बैठकबाट बाहिरिएपनि उपमेयर सञ्जु वरुवाल सहित बहुमत कार्यपालिका सदस्यहरुले शाखामा जयराम सुवेदी र मोहन बानियाँलाई नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । आफुले स्थगीत गरि बाहिरीपछि पनि सोही बैठकलाई निरन्तरता दिएर गैरकानुनी रुपमा विधि र प्रकृया मिचेको भन्दै मेयर श्रेष्ठले ३ दिनपछि सो निर्णय पुस्तीकामा फरक मत लेख्दै निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकिय अधिकृलाई निर्देशन दिनुभएको थियो ।

बैठकको अध्यक्षता गरेका श्रेष्ठको नोट अफ डिसेन्ट आएपछि निमित्त प्रशासकीय अधिकृतले संघिय मन्त्रालयको राय मागेका थिए । मन्त्रालयले ‘बहुमतको निर्णय प्रचलित कानुन सम्मत रहेको’ राय पठाएपछि मेयर श्रेष्ठ निर्णय वदर गर्न उच्च आदलत पोखरा, बाग्लुङ इजलासमा उत्प्रेष्णयुक्त परमादेश माग्दै अदालत पुग्नुभएको छ । अदालतले उक्त निर्णय तत्काल कार्यान्ययन नगर्न आदेश सहित दुवै पक्षलाई आगामी असार १२ गते आ–आफ्ना राय राख्न बोलाएको छ । आन्तरिक विवाद अदालतमा पुगेको सन्दर्भमा समेत सोहि बिषयलाई देखाउँदै मेयर श्रेष्ठले ३ गतेको निर्णय नसच्चिएसम्म नीति तथा कार्यक्रम र बजेटको लागि नगरसभा आह्वान गर्ने पक्षमा देखिनुभएको छैन् ।
नगरसभा आह्वान नगरि मेयरले दम्भ देखाए ः उपमेयर सहित कार्यपालिका सदस्यहरु
बेनी नगरपालिकाको आन्तरिक गतिरोधका बिच पनि कानुनमा व्यवस्था भएबमोजिम असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने पक्षमा उपमेयर सञ्जु बरुवाल र नेकपा सम्बद्ध जनप्रतिनिधिले नगरसभा माग गर्दै आएका थिए । एक महिना बढी समयसम्म एउटै विवादमा फसेर नगरलाई नै बन्धक बनाउन खोज्नु निरंकुशताको पराकाष्ट भएको उनीहरुको आरोप छ । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि उपमेयर बरुवाल र प्रवत्ता रामकृष्ण बराइली सहित नेकपा सम्वद्ध कार्यपालिका सदस्यहरुले ऐनमा व्यवस्था भए अनुसार, असार १० गतेभित्रैमा स्थानीय सरकारको नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानलाई मेयर श्रेष्ठले नीतिगत अधिकारको दुरुपयोग गर्दै नगरसभा आयोजना नगरेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएका हुन ।

कार्यक्रममा उपमेयर बरुवालले संघिय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तकिर आम्दानीको स्रोत अनुमान गरि बजेट निर्माणका काम गरेपनि नगरसभा नै आह्वान नभएपछि बजेट पेश गर्नबाट बञ्चित भएको बताउनुभयो । ‘‘ कार्यपालिका बैठकको विवाद अदालतमा पुगेकाले अन्य कार्य सम्पादनको लागि नगरसभा आह्वान गर्न माग गरेका थियौँ, तर बजेट र नीति ल्याउने अन्तिम दिनमा समेत नगरप्रमुखबाट सभा आह्वान भएन, यसले समग्र नगरबासीमा जनप्रतिनिधिको भुमिकाप्रति गम्भिर प्रश्न उठाएको छ’’–उहाँले भन्नुभयो । कार्यक्रममा प्रवक्ता बराईलीले मेयर श्रेष्ठ सहमतीमा आए विवादीत बनेको शिक्षा शाखामा कर्मचारी व्यवस्थापन गर्ने निर्णयलाई शंसोधन र स्थगित गर्न तयार हुँदा समेत गैरजिम्मेवार ढुंगबाट नगरपालिकालाई बन्धन बनाउने काम भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा कर्मचारी व्यवस्थापन गर्ने निर्णयमा असन्तुष्ट भएर नगरसभा नै आह्वान नगरि आगामी बर्षको बजेट र नीतिलाई नै अनिश्चित बनाउनुले मेयरको गैरजिम्मेवारपन देखिएको बताउनुभयो । अदालतमा पुगेको मुद्धा अदालती रुपमै टुंगो लाग्ने भएकाले आफुहरुले पटक पटक समयमै बजेट ल्याउनको लागि नगरसभा माग गर्दा समेत नगरप्रमुखले बेवास्ता गरेको कारण नगरपालिकामा समयमै नीति तथा कार्यक्रम र बजेट आउन नसकेको आरोप लगाउनुभयो । उहाँले जेठ ३ गतेको बैठकमा कर्मचारी नियुक्त गर्ने बिषयमा मेयर श्रेष्ठले बाहिरी रुपमा असन्तुष्टी देखाएको भएपनि बास्तविक रुपमा बेनपा–१० वखले स्थित आरसियुपी भवनमा सञ्चालित पात्लेखेत इङलिस वोर्डिङ स्कुल हटाउने लगायतका निर्णयलाई कार्यान्वयन हुन नदिने चलखेलमा रहेको उहाँले आरोप लगाउनुभयो ।
                                             मेयर श्रेष्ठद्धारा बचाउ
असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने आन्तरिक वातावरण नै सिजर्ना हुन नसकेको मेयर हरिकुमार श्रेष्ठले बताउनुभएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै मेयर श्रेष्ठले विधि र प्रकृया मिचेर हुकुमी शैलिमा कर्मचारी भर्ना गर्ने प्रस्ताब आएपछि बैठक स्थगित गरि निस्कीएपछि आफ्नै अध्यक्षताको बैठकलाई निरन्तरता दिएको हवला दिएर गरिएको निर्णय बदर गराउन आफु अदालत सम्म पुग्नुपरेको बताउँदै ३ गतेको निर्णय सबै खारेज भएमा मात्रै सहज रुपमा नगरपालिका अघि बढ्न सक्ने जिकिर गर्नुभयो ।

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगरबासीको हितमा ल्याउन आफु संधै चिन्तित रहेपनि त्यसको लागि जेठ ३ गतेको बैठकमा विधि र प्रकृया मिचेर गरिएको निर्णय तगारो बनेको उहाँको भनाई छ । मेयर श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा जेठ ३ गतेको निर्णय खारेज गरि सहमतीको साथ नगरपालिकालाई अघि बढाउनको लागि आफु लचिलो भएको उल्लेख गर्दै आफुलाई नै प्रमुख समस्याको रुपमा चित्रण गर्न खोजिएको प्रति ध्यानकर्षण भएको जनाईएको छ ।

                                             एजेण्डाविनाको बिशेष नगरसभा आह्वान

बेनी नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको छ । आन्तरिक गतिरोधलाई देखाएर नगरपालिकाका प्रमुखले नगरसभा आह्वान नगरेपछि एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेपछि नगर प्रमुखको निर्देशन अनुसार नगरसभा बोलाएको हो । नेकपा निकट नगर सभा सदस्यहरुले गत जेठ २९ गते बार्षिक नीति तथा कार्यक्रम र बजेट सहितका एजेण्डामा छलफलको लागि नगर सभाको माग गर्दै हुलाक मार्फत पत्र पठाएका थिए । नगरसभा सदस्यहरुले बिशेष अधिवेशन माग गरेको सन्दर्भ अनुसारनै सभा बोलाइएको भएपनि नगर प्रमुखले एजेण्डा तय गर्नुभएको छैन् । एजेण्डा बिनै बोलाइएको नगरसभाको कुनै औचित्य नभएको र आफुहरुलाई अहिलेसम्म औपचारिक रुपमा नगरसभा आह्वान गरेको पत्र समेत प्राप्त नभएको बेनपा ८ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । ‘हामिले तोकिएको असार १० गतेभित्रनै बजेट ल्याउन लचक भएर छलफलमा प्रस्ताव लगेका थियौ, तर नगर प्रमुखले मान्नुभएन्,’ बराइलीले भन्नुभयो ‘के विषयमा छलफल गर्न नगरसभा बोलाइएको हो त्यो नै जानकारी नदिएर किन अन्यौलता सिर्जना गर्न खोजिएको छ भन्नेनै बुझ्न सकिएको छैन् ।’