जलजलामा १६८ जनालाई रोजगारी

  • १० असार २०७६, मंगलवार
  • 1315 पटक पढिएको

 

बेनी १० असार । जलजला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु भएको छ ।  पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १६८ जनालाई रोजगारी दिएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो ।

९ वटै वडामा ११ जना देखि २८ जनालाई १५ दिनसम्म सिचाई, खानेपानी, सडक मर्मतको योजना छनौट गरेर काममा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ ।

उनिहरुले दैनिक ७५० रुपैयाँका दरले ज्याला पाउनेछन् । जलजलामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २३ लाख रुपैयाँ बजेट आएकोमा १६ लाख रुपैयाँ ज्यालामा खर्च गर्ने निर्णय भएको छ । मजदुरहरुका लागि आवश्यक औजार, पोशाक, निर्माण सामग्रीमा पनि सो बजेट परिचालन गरिएको छ । जलजलामा सात सय जना भन्दा बढीले बेरोजगार फारम भरेका छन् ।