कार्यपालिका बैठक नबस्दा बेनपामा लाखौ रुपैया फिर्ता हुने खतरा

  • १० असार २०७६, मंगलवार
  • 1351 पटक पढिएको

म्याग्दी १० असार ।  आन्तरिक विवादमा फसेको म्याग्दीको बेनी नगरपालिकामा संघिय सरकारबाट प्राप्त भएको लाखौँ रुपैयाँ अनुदान रकम फिर्ता हुने अबस्थामा पुगेको छ । गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा नगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरुबिच बढेको विवादले कार्यपालिका बैठक अनिश्चित भएपछि विभिन्न कार्यक्रमको लागि प्राप्त बजेट फिर्ता हुने अबस्थामा पुगेको हो ।


चालु आर्थिक बर्षमा खर्च गर्ने गरि संघिय सरकारबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि प्राप्त भएको रु ४७ लाख बजेट खर्च गर्न कठिनाई भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माले बताए । उनका अनुसार, कार्यपालिका बैठकले सो बजेट कार्यान्वयनको लागि आबश्यक निर्णय नगर्दा बजेट खर्च हुन नसकेको हो । कार्यपालिका बैठक नबस्दा गरिबी घरधुरी सर्वेक्षण कार्यक्रमको लागि प्राप्त बजेट समेत प्रभावित भएको छ । आन्तरिक विवादको कारण घरधुरी सर्वेक्षणको लागि सुपरभाईजर सहितका कर्मचारी नियुक्त गर्ने र कार्यक्रम सञ्चालन गर्ने काम समेत प्रभावित भएको छ ।
जेठ ३ गतेको बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा विवाद भएपछि मेयर श्रेष्ठले बैठक स्थगन गर्दै बाहिरिएका थिए । भने बहुमत कार्यपालिका सदस्यहरुले सो शाखामा कर्मचारी व्यवस्थापनको निर्णय गरेका थिए । अहिले नगरपालिकाको विवाद उच्च अदालत पोखरा बागलुङ इजालास सम्म पुगेको छ । मेयर श्रेष्ठले ३ गतेको बैठकको निर्णय खारेजीको माग गरेका थिए । भने अन्य कार्यपालिका सदस्यहरुले बहुमतबाट भएको निर्णय कार्यान्वयन गराएरै छाड्ने पक्षमा छन् ।
नगरपालिकाभित्रको विवाद र तयारी विना १५ गते बोलाईएको नगसभा जनताको पक्षमा हुने वा नहुने चासो बढेको छ। १० गतेभित्र हरेक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था थियो ।