लामगरामा प्राङगारिक खेती अभियान

  • १० असार २०७६, मंगलवार
  • 1616 पटक पढिएको

 

बेनी १० असार । बेनी नगरपालिका– १ लामगरामा रासायनिक बिषादी र मलको विकल्पमा प्राङगारिक प्रबिधिबाट खेति अभियान सुरु भएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा लामगरा व्यवसायिक कृषि सहकारी संस्थाले प्राङगारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अन्तरगत प्राङगारिक मल उत्पादन, भकारो सुधार, गाइबस्तुको मुत्र संकलन र प्रयोग गरी रासायनिक मल र बिषादीको प्रयोग घटाउन तयारी गरिएको छ ।

लामगरा, सारेमारे र आनन्दबगर तरकारीको पकेट क्षेत्र हो । प्राङगारिक खेतीका लागि कृषकहरुलाई मल उत्पादन, गोठ सुधार, जैविक विषादी उत्पादनका लागि अभियान मार्फत अनुदानको व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष कमल थापाले बताउनुभयो । यसका लागि आइतबार कृषकहरुलाई प्राङगारिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइराला र बागबानि विकास अधिकृत भोजबहादुर थापाले सहजिकरण गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर रावलको पनि उपस्थिती थियो ।

अभियानका लागि कृषि ज्ञान केन्द्रले १३ लाख ३३ हजार ९५२ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । कृषकहरुले तीन लाख ३३ हजार ४४८ रुपैयाँ लगानी जुटाएर १६ लाख ६७ हजार ४४० रुपैयाँको कार्यक्रम तयार पारिएको छ ।
१६ जनालाई प्राङगारिक कम्पोष्ट मल उत्पादन गर्न, १६ जनालाई गाइबस्तुको मुत्र संकलन, २८ जनालाई गोठेमल सुधारका लागि भकारोमा टहरा बनाउन, ५१ जनालाई भकारो सुधार गर्न अनुदान उपलब्ध गराइएको छ । यसैगरी जैविक बिषादी बनाउन ९५ जना कृषकहरुलाई ड्रम वितरण गर्न कार्यक्रम छ । तालिममा सहभागि कृषकहरुलाई विभिन्न जातका तरकारीका विउ बिजन वितरण गरिएको थियो ।