मंगलाको सातौँ गाउँसभाः ३५ करोडको बजेट सार्वजनिक, कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकतामा ( फोटो फिचर)

  • १० असार २०७६, मंगलवार
  • कमल खत्री
  • 6703 पटक पढिएको

कमल खत्री

बाबियाचौर ९ असार । मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ९२ हजार ६ सय र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरि कुल ३५ करोड तीन लाख ९१ हजार ६०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालू आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याएको हो । मंगलाले सडक, कृषि, पर्यटन, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ । बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ७ करोड ७३ लाख, संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट रु ५ करोड ९७ लाख, सशर्त अनुदान रु १३ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु १ करोड २१ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँड रु २८ लाख १० हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु ५० लाख र सामाजिक सुरक्षा भत्ता ४ करोड ३५ लाख ६९ हजार ६ सय र चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित रु १ करोड ३० लाखलाई स्रोत अनुमान गरिएको छ ।

बजेट अघि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको थियो । नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाको केन्द्र बाबियाचौर देखि वडा र बस्ती जोड्ने सडकलाई स्तरोन्नती गरि वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।

सडक स्तरोन्नतीका लागि तीन करोड ९६ लाख ५० हजार, विद्यालय र सामुदायिक भवनका लागि ८६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मंगलाले एक घर एक धारा को अवधारणा अनुसार खानेपानी सुबिधा विस्तार गर्ने लक्ष्य राखेको छ । खानेपानी तथा सिचाई आयोजनालाई ६० लाख ५० हजार रुपैयाँ र कृषि तथा पशुपालनमा एक करोड २६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

बाबियाचौरमा ढल निकासका लागि २५ लाख, विपद् पिडितलाई राहत र जटिल रोगबाट थलिएकालाई सहायताका लागि १६ लाख, तालिम तथा क्षमता विकासका लागि चालिस लाख, शून्य दरबन्दिका सामुदायिक विद्यालयलाई लागत सहभागितामा आधारित अनुदानका लागि ३२ लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको छ ।

सामुदायिक विद्यालयको सिकाई उपलब्धि वृद्धीका लागि प्रबिधिको प्रयोग, वडा अध्यक्षसंग शिक्षा, गाउँपालिका अध्यक्षसंग जेष्ठ, विपन्न नागरिक बस्तुगत सहायता सहयोग, महिलासंग उपाध्यक्ष कार्यक्रम, पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको मंगलाले संग्रहालय बनाउने जनाएको छ । रोजगारी सिर्जना र आयआर्जन सुधारका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विपन्नको स्वास्थ्य बिमा, कामदारको सामुहिक बिमा, झाँक्रेपानी, टोड्के, चागामा चियाखेती गर्ने, प्रदेश र संघीय सरकारसंगको समन्वयमा बहुउद्देश्यीय सभाहल बनाउने, ठूला आयोजना ठेक्काबाट सञ्चालन गर्ने नीति लिएको छ । कृषि र पशुपालनका लागि कृषकहरुलाई अनुदान, भकारो सुधार, खेतीमा मानव मुत्रको प्रयोग विस्तार गर्ने, खरका छाना विस्थापित गर्ने भएको छ ।

बस्ती स्तरमा एकिकृत सामुदायिक भवन निर्माण गर्ने योजनालाई निरन्तरता दिएको छ । विगत २ वर्षको अनुभव, सरोकारवालाको सुझाव, वडाबाट आएका माग र आवश्यकताको आधारमा बजेट, नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष रोकाले बताउनुभयो । गाउँसभामा अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वडा अध्यक्षहरु डेगबहादुर राम्जाली, धनबहादुर खाती, कबिन्द्र रोका, ओमबहादुर रोका, भुपेन्द्र खत्री, गाउँसभा सदस्य जितमान गौचन, राजु पाण्डे लगायतले सुझाव दिनुभएको थियो । आगामी असार २० गते बोलाइएको गाउँसभाबाट बजेट पारित गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l