राहुघाटको सुरुङ निर्माण सुरु

  • ८ असार २०७६, आईतवार
  • 3437 पटक पढिएको

 

म्याग्दी ८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ । ४० मेगावाट जलविधुत आयोजनाको आईतबा नेपाली सेनाको श्रीबक्स गुल्म, प्रहरी, आयोजनाका अधिकारी र ठकेदार कम्पनीका प्रतिनिधिहरुको उपस्थितीमा बिस्फोट गराएर सुरुङ निर्माणको सुरुवात गरिएको हो ।


आयोजनाको ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्सले पिप्लेको बगैचा स्थित अडित न. ३ को सुरुङ खन्न लागेको हो । विद्युतगृह निर्माण हुने तिल्केनीको अडित न. ४ र पिप्लेकै सर्च ट्याकबाट पनि छिट्टै सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इञ्जिनियर आरके श्रीवास्तवले बताए । मुख्य सूरुङमा जाने अडिट ३ बलास्टीङ गर्दै सुरुङ निर्माण कार्य सुरु गरिएको रघुगंगा हाईड्रो लिमिटेडका उपप्रवन्धक पवन वस्नेतले जानकारी दिए ।

भौगोलिक विकटता, मौसमि प्रतिकुलता र पहिरोको समस्याले अधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खा पछि सुरु हुने भएको छ । आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ । २०७४ मंसिर ५ मा सम्झौता गरेर २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालित ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्सले एक वर्षको अवधिमा पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्ती लगायतका काम गरेको रघुगंगा हाइड्रो लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले बताए ।

घुमाउनेताल देखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म करिब १० किलोमिटर सडकको ट्याक पुगीसकेको आयोजनाका उपनिर्देशक पवन बस्नेतले बताए । । पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघिनै २८२ रोपनी जग्गा अधिग्रहण गरीसकको आयोजनाले वन सम्बन्धी सबै प्रक्रिया पुरा गरेको छ ।ईलेक्ट्रीमेकानीकल ठेक्काका लागि परेका तीन वटा प्रस्तावको प्राबिधिक मूल्याङ्कन गरि स्विकृतीका लागि ऋण लगानीकर्ता एक्जिम बैङ्कलाई पठाइएको छ । इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको आयोजनाले गत चैत १८ गते प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गरेको थियो ।

भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत प्राधिकरणको लगानी रहने यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज सहित आठ अर्ब ५९ करोड रुपैयाँ अनुमान गरिएको छ ।अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टीएपछि चार वर्षमा दश प्रतिशत पनी काम नगरी राहुघाटलाई अधकल्चो बनाएर छाडेको थियो ।२०७३ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । पहिलेको कार्य तालिका र सम्झौता अनुसार आयोजना वि.स २०७० सालमा सकिनुपर्ने थियो ।

झिँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । रघुगंगा लगायतका निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि विद्युत प्राधिकरणले खुर्कोट दाना प्रशारण लाइनका साथै राहुघाटमा सब स्टेशन बनाउन जग्गा अधिग्रहण गरेको छ।