अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

  • ८ असार २०७६, आईतवार
  • 2663 पटक पढिएको

बेनी ८ असार ।  म्याग्दी स्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई वटा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण खोलामा थप दुई वटा झोलुङ्गे पुल निर्माणाधिन छन् । पदमार्ग अन्तरगत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओडारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

पर्यटन कार्यालयको दश लाख रुपैयाँ अनुदान र स्थानीयबासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको गाउँ संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । यस वर्ष घोरल खसेको भिरको फेदीमा ३६ मिटर र भुसकेतको जंगल स्थित अन्नपूर्ण खोलामा ३४ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले झोलुङ्गे पुल बनाउन १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । यसअघि छोटेपामा २०६४ मा निर्माण भएको झोलुङ्गे पुल बाढीले बगाएको थियो । अन्नपूर्ण आधार शिविर जाने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका चन्द्रजित पुनले बताउनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पर्ने अन्नपूर्ण र निलगिरी खोलामा हाल काठका अस्थाई पुल (फट्के) आवत जावत गरिदै आएको छ । केही ठाउँमा रुख ढलाएर खोलामाथि राखेर आवत जावत गर्ने बाटो बनाइएको छ ।

वि.स २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । यसअघि हिमाल आरोहीहरु मुस्ताङको ताक्लुङ हुदै करिब पाँच दिन भिर र जंगलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे ।

नारच्याङ गाउँदेखि तीन दिनको पैदलयात्रा पछि आधार शिविर पुग्न सकिन्छ । पदमार्ग पहिचान भएपछि सरकारी निकाय र स्थानीयबासीको सक्रियतामा पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।

यस वर्ष हुमखोला देखि आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतिको काम भइरहेको छ । नारच्याङका करिब ३० जना मजदुरहरु एक महिनायता जंगलमै बास बसेर पदमार्ग स्तरोन्नतीको काममा जुटेका छन् ।

गत वर्ष मिस्त्रीखोला आधार शिविरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को दश लाख रुपैयाँ सहयोगमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको थियो । यस वर्ष एक्यापको पन्ध्र लाख रुपैयाँ सहयोगमा छोटेपा र आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा १५÷१५ जना क्षमताको आश्रयस्थल बनाउन लागिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर नजिकबाट हिमालको अवलोकन, हिमताल, वन्यजन्तु, पंक्षि, वनस्पती आकर्षण हुन् । रिखार दैनिकबाट