धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत

  • ७ असार २०७६, शनिबार
  • 2291 पटक पढिएको

म्याग्दी, ७ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । शनिवार आयोजित गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पुनले गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाको विकास र समृद्धिलाई केन्द्रित गरि नीति तथा कार्यक्रम तयार गरिएको  बताउनुभयाे ।

गाउँसभामा पेश भएको आगामी बर्षको नीति तथा कार्यक्रममा व्यवसायिक कृषिलाई प्रोत्साहन गरिने, कृषि क्षेत्रलाई उत्पादनमुखी, दिगो, फराकिलो र स्वरोजगारीमुखी बनाउन समूहमा खेति गर्ने, सहकारी मार्फत खेती गर्ने वा संस्थागत रुपमा खेती गर्ने कृषि व्यवसायी समूह र पशुपालक समूहलाई यन्त्र उपकरणहरुमा अनुदानको व्यवस्था गरिने उल्लेख छ । पिसाबलाई हिसाबमा परिवर्तन गर्न अनिवार्यरुपमा प्राङ्गारिक मल उत्पादन प्रवद्र्धन तालिममा जोड दिएको गाउँपालिकाले कृषि र पशुपालनको प्रवद्र्धनको लागि ‘ एक गाउँ एक उत्पादन’ मा जोड दिएको छ ।

धवलागिरी गाउँपालिकाको आर्थिक रुपान्तरणको लागी सरकार, सहकारी, निजी क्षेत्रको सहभागीता मुलक कार्यक्रममा जोड दिएको धवलागिरीले खेर गइरहेको श्रमलाई उत्पादनमा जोड्न लघु उद्यम कार्यक्रम सञ्चालन गरि प्रत्येक वडामा उद्यम केन्द्रको स्थापना गर्ने नीति लिएको छ । गाउँपालिका स्तरमा १ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पुर्वाधारको निर्माण गर्न यसै गाउँपालिकाको वडा नं ७ को रानीबास क्षेत्रमा जग्गाको व्यवस्थापन भैसकेकोले पुर्वाधार विकासक ालागि आवश्यक कार्य अगाडी वढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।


ब्यवसायीक क्षेत्रमा लाग्न चाहने यूवाहरुलाई आधारभूत तालिम, यन्त्र उपकरण सहयोग गरी युवा लक्षीत कार्यक्रम संचालन गरिने र बेरोजगार युवाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई युवा स्वरोजगारमुखी सिप प्रदान गरिने नीति लिएको छ । गाउँपालिका भित्र रहेका बिभिन्न खानीहरु पहिचान गरी उत्खनन् गर्न पहल गरिने, गाउँपालिका क्षेत्र भित्र रहेका प्राकृतिक सम्पदाहरु (जल, जमिन, बनजङ्गल, ढुङ्गारोडा, स्लेट ढुङ्गा खनिज आदि) उद्योग ब्यवसायहरुले अनिबार्य रुपमा पुर्व स्विकृती लिइ दर्ता गर्नुपर्ने नीति अवलम्बन गरिने नीति लिइएकोछ । पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना भएको धवलागिरी गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकास गर्नको लागि खोलिएका पदमार्गहरुको प्रचार प्रसार, नयाँ गन्तव्यको पहिचान र आवश्यक पुर्वाधारहरुको विकास गर्नको लागि पर्यटन गुरुयोजना निर्माण कार्य अघि बढाउने नीति लिएको छ भने घुम्न आउने आन्तरीक तथा वाह्यय पर्यटकको विवरण अद्यावधिक गर्नको लागि पर्यटक चेकपोष्ट तथा अभिलेख सुचना प्रणाली स्थापना गरिन जनाएको छ ।


पालिकाभीत्र भीत्रिने आन्तरिक तथा वाह्य पर्यटकहरुको वसाई लम्व्याउन सांस्कृतिक संग्रहालय, पार्क, निर्माण गरी व्यवस्थित होमस्टे संचालन गर्ने, उत्कृष्ट होमस्टेलाई विषेश अनुदानको व्यवस्था गर्ने नीति लिएको धवलागिरीले दर्ता भएका र हाल सम्म अभिलेख नभएका सहकारीहरुले प्रकृया पुरा गरेर अभिलेखिकरण गर्न आएमा लाग्ने जरीवाना मिनाहा हुने व्यवस्था मिलाउने नीति लिएको छ । हरेक टोल वा वडाहरुमा उपभोक्ता सहकारी पसल स्थापना गर्नको लागि सहकारीहरु मध्येबाट प्रस्तावना आव्हान गरिने र स्थानीय सहकारी संस्थाहरुलाई नियमानुसार कार्यक्रम अनुदानको व्यवस्था गरिने नीति लिईएको छ भने संघीय सरकारले अवलम्बन गरेको निति तथा कार्यक्रम अनुसार आर्थीक, सामाजिक र पुर्वाधार विकासको कार्यक्रमहरु सम्बन्धित विषय तथा क्षेत्र संगको साझेदारीमा संचालन गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

सवै व्यक्तिहरुको वैंक खाता संचालन गर्नको लागि पहल गरिने, बालबिकास केन्द्रहरुलाई बालमैत्री पूर्वाधार बनाउने, विद्यालयमा इन्टरनेटको सुविधा पु¥याउने, उत्कृष्ट विद्यार्थीलाई पुस्कृत गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षाको संभाव्यता अध्ययन गर्ने, न्युन विद्यार्थी भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा गाभिने र शिक्षक दरबन्दीको बन्दोबस्तको पहल गर्ने, विद्युतिय हाजिरी र सीसी क्यामेराबाट निगरानीको व्यवस्था मिलाउने, आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न एम्बुलेन्सको व्यवस्था गर्ने, स्वास्थ्य चौकीहरुमा औषधीको बन्दोबस्त मिलाउने, घुम्ती स्वास्थ्य शिविर चलाउने, आधारभुत शुद्ध खानेपानीको पहुँच पु¥याउनको लागि आबश्यक कार्यको थालनी गरिने, खेकुदलाई प्राथमिकता र मेला महोत्सवलाई व्यवस्थित गरिने, ज्येष्ठ नागरिक, महिला, दलित, अपांगता भएका व्यक्तिहरुको सम्मान र सशक्तिकरण गरिने, बालविवाह, बहुविवाह रोक्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, “सुनौला १ हजार दिनका आमाहरुसंग अध्यक्ष“ कार्यक्रम र “उमेर सान्दर्भिक विवाह संग उपाध्यक्ष“ कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समेटीएको छ ।


दाङखोला, धारापानी हुँदै लुलाङ–गुर्जा सडकलाई गाउँपालिकाको मुख्य सडक कोरिडोरका रुपमा विकास गर्ने, गाउँपालिका केन्द्र देखी वडा सम्म सडक नजोडिएका वडामा पुग्ने कृषि सडक निर्माण गरिने, “आवास विहिन जनतासंग वडा अध्यक्ष“ कार्यक्रम लागु गर्दै लगिने, सौर्य उर्जा, लघु तथा साना जलविद्युत आयोजनालाई वैकल्पिक उर्जाको रुपमा अंगिकार गरी केन्द्रिय प्रशारण लाईनलाई प्राथमिकतामा राखिएको छ । जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न खाली जग्गाका र्सर्वेक्षण र माटो परीक्षण गरी जमिनको प्रकृति अनुसारको गैर काष्ठ वन पैदावार रोपण गरी भुउपयोग नीति अवलम्बन गरिने नीति लिईएको छ ।

कार्यालयबाट सम्पादन गरिने भौतिक पूर्वाधार निर्माण सम्बन्धी कार्यलाई लागत प्रभावी र गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने, आयोजनाहरु छनौट गर्दा उच्च जनसहभागिता रहने र अधिक नागरिकले प्रतिफल प्राप्त गर्ने योजनालाई उच्च प्राथमिकता दिइने नीति लिईएको छ । सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी, जवाफदेही बनाउने र भ्रष्टचारमा शुन्य सहनसिलताको नीति अबलम्बन गरिने उल्ल्खे छ । गाउँसभामा अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँ सभा सदस्यहरुको छलफल पछि असार १० गते बस्ने अर्को गाउँ सभाले पारित गर्ने गाउँपालिकाका प्रवक्ता झक बहादुर छन्त्यालले जानकारी दिनुभयाे । गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत गोविन्द सुनारले सहजीकरण गर्नुभएको थियो ।