दरवाङमा योग भवन निर्माण

  • ६ असार २०७६, शुक्रबार
  • 2465 पटक पढिएको

बेनी ६ असार । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा योग भवन निर्माण भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा निर्माण भएको भवनको अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्वस्थ्य समाज निर्माणका लागि योगको आवश्यकता रहेको बताउनुभयो । भवन निर्माणका लागि ब्यवसायी तथा योग अभियानका अगुवा सुरेन्द्रराज शर्माले तीन आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो ।

गाउँपालिकाले छ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको यो भवन बनाउन योग साधक, स्थानीयबासीहरुले थप पाँच लाख ९५ हजार रुपैयाँ बराबरको श्रम तथा नगद सहयोग गरेको उद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो । सो भवनमा ३५ जना क्षमताको छ ।

खड्ग छन्त्यालको अध्यक्षता, रेशम रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुवेदी, नबिन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुग्जाली, जग्गादाता सुरेन्द्रराज शर्मा, योग गुरु शिवराज घिमीरे, कमला सुवेदी र कौप्रसाद बुढाले मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय योग च्यापीयन रिनछेन लामाले योगको डेमो प्रस्तुत गर्नुभएको थियो ।