म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)

  • ६ असार २०७६, शुक्रबार
  • 3095 पटक पढिएको

 

बेनी ६ असार । म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न माग गरेका छन् ।व्यवस्थापिका संसदको बजेट अधिवेशनको छलफलमा भाग हिदै सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो हुने, दुई वटा प्रदेशलाई जोड्ने र आवत जावत सहज हुने सांसद थापाको भनाई छ ।साथै सांसद थापाले एक निर्वाचन क्षेत्र रणनीतिक सडकमा बेनी–दरवाङ सडक आयोजना मात्र समावेश भएकाले त्यसमा बेनी–पाखापानी, रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा, पर्वत बेनी–मल्लाज–नागी, गलेश्वर–राखु–चिमखोला सडकलाई पनि समेट्न माग गरेका थिए ।

म्याग्दीको दरवाङ देखि बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक अन्तरगत पर्ने म्याग्दीको मालिका गाउँपालिकाको अदीभारा स्थ्ति रितुङखोलामा मोटरेबल पुलको माग गरिएको थियो ।

गत वर्ष तीन करोड बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाका लागि यस वर्ष दुई करोड ७५ लाख रुपैयाँ मात्र बिनियोजन हुँदा डिपिआर अनुसार काम हुन नसकेको र बजार कटानको जोखिममा परेकाले थप बजेट छुट्टाउन माग गरेका थिए ।

कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनारहरुमा हिमताल फुटेर क्षति गर्न सक्ने जोखिम भएकाले नदी बेसीन कार्यक्रम सञ्चालन गर्ने र पर्याप्त बजेट बिनियोजन गर्न माग गरेका थिए ।
५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत आयोजनाको गलेश्वर ठूलोढुङ्गामा प्रस्तावित बाँधका कारण बेनीमा कालीगण्डकीको पानी सुक्ने खतरा भएकाले बाँधलाई रघुगंगा र कालीगण्डकीको दोभान भन्दा माथि बनाउन माग गरेका थिए ।

श्रम तथा रोजगार मन्त्रालयले म्याग्दीमा कुनै पनि योजना तथा कार्यक्रम समावेश नगरेकोमा आपत्ति जनाएका थिए ।