भरोसा गुमाउँदै बेनी अस्पताल ! सेवाग्राहीका गुनासै गुनासा

  • ६ असार २०७६, शुक्रबार
  • 4560 पटक पढिएको

बेनी, ६ असार । केही समय अघि सम्म स्वास्थ्य सेवामा सुधार गरेर म्याग्देली जनताको मन जितेको बेनी अस्पताल यतिबेला भने विरासत गिराउँदै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी(साविकको जिल्ला अस्पताल) अस्पतालको सेवा प्रवाह खस्किएको छ भने अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा समेत सर्वशुलभ बन्न सकेको छैन् । सामान्य पूर्वाधारमा रहेको बेनी अस्पतालमा अत्याधुनिक एक्सरे मेसिन लगायतका उपकरणहरुको सुविधा, तालिमप्राप्त ,दक्ष तथा अनुभवि चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रवाह हुने स्तरीय स्वास्थ्य सेवाले पोखरा लगायतका ठुला शहरमा पुगेर सामान्य रोगको समेत स्वास्थ्य जाँच गराउनुपर्ने बाध्यताबाट धेरै म्याग्देलीहरुले मुक्ति पाएका थिए ।

जिल्ला स्तरकै अस्पतालमा जटिल खालका अप्रेशन सफलतापूर्वक हुन थालेपछि बेनी अस्पतालको बारेमा सर्वत्र प्रसंसा पनि नभएको होइन् । तर बेनी अस्पताल यतिबेला ‘विरासत’ जोगाउने कि गुमाउने भन्ने अबस्थामा पुगेको छ । अस्पताल प्रति सर्वसाधारणको विश्वास भत्किन थालेको छ भने भरोसा गुम्दै गएको छ । छिटो छरितो हुुनुपर्ने सेवा सुस्त बनेको छ । स्वास्थ्यकर्मीहरुको व्यवहार विरामीमैत्री नबनेको गुनासो बढ्न थालेको छ । आईतवार अस्पतालमा पुगेका मंगला गाउँपालिका–२ बावियाचौरका तेजेन्द्र आचार्यले अस्पतालमा स्वास्थ्य सेवा लिँदा झण्झट बढाउने र विरामी कुराउने प्रचलन बढेको गुनासो गरे ।

हँसियाले काटिएको हातको घाउको एक्सरे रिपोर्ट देखाउनको लाटि पटक पटक चिकित्सक र स्वास्थ्यकर्मीलाई अनुरोध गर्दा समेत सुनुवाई नभएपछि चिकित्सककै अगाडी अस्पतालकै फोहोर फाल्ने भाडोमा एक्सरेको कागजात फालेर फर्किन बाध्य भएको उनले दुखेसो पोखे । ‘‘चेकजाँचमा चिने जानेकालाई सहज र सर्वसाधारणलाई कठिन बनेको पाएँ, सरकारी अस्पतालमा कसैलाई काखा र कसैलाई पाखा हुनु निन्दनिय कुरा हो, मेरै अगाडी केही विरामीको डाक्टरले रिपोर्ट हेरे, तर मेरो एक्सरे रिपोर्ट हेर्न नमानेपछि मैले रिपोर्टलाई फोहोर फाल्ने बाल्टीमा फालेर निस्किँए’’–उनले गुनासो गरे । अस्पतालको इमर्जेन्सी कक्षमा टाँका लगाउने धागोको समेत बन्दोबस्त नहुने गरेको पाइएको छ । जस्को कारण रातको समयमा काटिएको घाउको उपचार गर्न अस्पतालको इमर्जेन्सी कक्षमा पुगेका व्यक्तिहरु घण्टौँ समय कुर्नुपर्ने बाध्यतामा पर्ने गरेका छन् ।


विहान र बेलुकीको समयमा इमरेजेन्सी सेवा लिन गएका विरामीहरु सामान्य स्वास्थ्य परिक्षण विनै फर्किन बाध्य छन् । विरामीलाई स्वास्थ्य परिक्षण नै नगरिकन अबस्था सामान्य घोषणा गर्दै आकस्मीक कक्षका स्वास्थ्यकर्मीले विहान गएका विरामीलाई दिउँसो र साँझ गएका विरामीलाई अर्को दिनको ओपिडी आउन भन्दै फर्काउने गरेका हुन् । आकस्मीक कक्षबाट चेकजाँच बिनै ओपिडिमा पठाउने र ओपिडिमा नाम दर्ता देखि चिकित्सकहरु समेत समयमा नआउँदा विरामीहरुले सास्ती खेप्नुपरेको आमाको उपचारको लागि अस्पालमा पुगेका अच्युत पौडेलले गुनासो गरे । ‘‘स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी नै संवेदनशिल नबन्नु दुखत हो, विरामीलाई सरल र सहज तरिकाले स्वास्थ्य सेवा लिने वातावरण बनाउनुपर्छ’’–उनले भने ।

यी केहि प्रतिनिधिमुलक घटना मात्रै हुन् । बेनी अस्पतालको खस्कँदो सेवा प्रवाह आम सर्वसाधारणको नजरमा आलोचित बन्न थालेको छ । विरामीको लागि सबैभन्दा धेरे आसा बोकेको घर ‘अस्पताल’ नै सेवा भन्दा बढी व्यापारीकरण हुन थाल्नु सिंगो म्याग्दीबासीको लागि दुखत हो । बेनी अस्पतालले प्रवाह गर्ने सेवामा ‘स्वास्थ्य विमा गरेका व्यक्तिहरुले’ सहज रुपमा सुविधा उपभोग गर्न नपाएको समेत गुनासो बढेको छ । सरकारले गरिब, विपन्न सम्मका सबै नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा पु¥याउनको लागि ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई अस्पतालबाटै असहयोग हुनुले राज्यको स्वास्थ्य नीति प्रभाबकारी कसरी बन्न सक्छ आम चासोको बिषय बनेको छ ।

आकस्मीक कक्षमा उपचार लिन आउने अधिकाँश विरामीलाई स्वास्थ्य विमाको सुविधाबाट बञ्चित गरिने गरिएको छ । आकस्मीक कक्षमा अधिकाँश समय अभ्यासको लागि आएका प्रशिक्षार्थि स्वास्थ्यकर्मीहरुकै भरमा चल्ने गर्छ । संवेदनशिल कक्षमा समेत कर्मचारीको राम्रो व्यवस्थापन गर्न नसक्नुले बेनी अस्पतालको गुणस्तरीय सेवाबारे प्रश्न उठाउने गरेको छ । उपचारको क्रममा ज्येष्ठ नागरिकलाई दिइने छुट र प्राथमिकता समेत नहुने गरेको बेनी नगरपालिका–२ का याम खड्काले बताए । ‘‘७४ बर्षको बुबाको उपचारमा दुई पटक अस्पताल गएँ, तर नत उपचारमा ज्येष्ठ नागरिकको सुविधामा छुट सुविधा पाईयो, नत ज्येष्ठ नागरिकले पाउने प्राथमिकता नै, अस्पताल सेवा भन्दा बढी व्यापारिकरण हुँदै गएको छ, सम्बन्धित निकाएको ध्यान जान जरुरी छ’’– खड्काले भने ।

अस्पताल परिसरमा अधिकाँश समय पशुचौपायाको भिड हुनुले पनि अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा गरिएको कमजोर व्यवस्थापनलाई उजागर गरेको छ । यता बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल भने अस्पतालमा देखिएका ककिमजोरी स्विकार गर्ने पक्षमा छैनन् । इमरजेन्सीमा आउने सामान्य विरामीहरुको लागि स्वास्थ्य विमाको सुविधा उपलब्ध नहुने भएपनि अन्य सेवा प्रवाह फितलो नबनेको उनको दावि छ । ‘‘लाईनमा बस्दा समेत पहूँचवालाले पहिले सेवा लिएको गुनासो आएको छ, अस्पतालको सेवालाई थप व्यवस्थित बनाउने हाम्रो जमर्को छ’’अध्यक्ष कटुवालले भने ।