रघुगंगा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (फोटो फिचर)

  • ५ असार २०७६, बिहीबार
  • 1947 पटक पढिएको

कमल खत्री
म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । विहिवार आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । गाउँसभामा अध्यक्ष भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममा मानवीय क्षमता विकास, पूर्वाधार निर्माण,उद्यमशीलता र रोजगारी वृद्धि,स्थानीय नेतृत्व विकास, दिगो विकास, प्रभावकारी सेवा प्रवाह र कानुनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ केन्द्रित रहेको उल्लेख गरिएको छ ।

गाउँपालिकाले ल्याएको नीतिमा जोखियुक्त वस्ती पहिचान गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामूहिक आवास व्यवस्था गरिने, सुकुम्वासी तथा विपिन्न नागरिकको पहिचान गरि उनीहरुको जीविकोपार्जन र वसोवासको व्यवस्थापनका लागि उचित प्रवन्ध गर्नका लागि गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।
रघुगंगाले घरघरमा स्नातक, टोलटोलमा प्राविधिक, वडा वडामा स्वास्थ्यकेन्द्र, वस्ती वस्तीमा ज्येष्ठ नागरिक क्लव, नदी किनार र पर्ती जमिनमा सार्वजनिक उद्धान बनाउने नीति लिएको छ ।

स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा संग जोड्न प्रत्येक जनप्रतिनिधिज्यूहरुलाई ल्यापटप वितरण गरी सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिका बनाइने गाउँपालिकाले नीति लिएको छ । वेगखोलाको लामो झोलुङ्गे पुल, भगवतीको रुईसे, पिप्लेको रानीपौवा, दग्नामको तातोपानी कुण्ड, झीँको टोड्के, पाखापानीको मालिका मन्दिर, चिमखोलाको मण्डलीथान तथा कुईनेको रिखार मन्दिर लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी रघुगंगा गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिने जनाईएको छ ।

पर्यटन मैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिन र निजी क्षेत्र संग समेत समन्वय गरी रघुगंगा पर्यटन महोत्सव आगामी वर्ष आयोजना गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याइ त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गर्ने र गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाईने नीति लिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने र मर्मत सम्भार कोषलाई आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिने उल्लेख छ ।गाउँपालिकाले सहकारी, वैक तथा वित्तीय संस्थाहरु संगको सहकार्यमा जोड दिदै वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने जनाएको छ । कर र राजश्व शुल्कलाई व्यवस्थित र लक्षित समुदायलाई आकर्षित गर्नको लागि ‘हाम्रो गाउँपालिका हाम्रो कर,समृद्ध बनाउने हाम्रै रहर’ भन्ने नारा अघि सारेको छ । असल कारदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिने नीति लिलएको गाउँपालिकाले आागामी आर्थिक वर्ष देखि नै सम्पत्ति कर लागू गर्ने जनाएको छ ।

.सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिने र यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाउँदे वि.सं. २०७ देखि २०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष अभियानका रुपमा अगाडि बढाउन प्रवन्ध मिलाईने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिका भित्रका सवै वालवालिकालाई आधारभूत तथा माध्यमिक तहसम्म निसशुल्क शिक्षा उपलव्ध गराइ साक्षर गाउँपालिका बनाउने नीति अवलम्वन गरेको गाउँपालिकाले सवै विद्यालयलाई वालमैत्री बनाउनुका साथै सवैका लागि शिक्षा अभियान सञ्चालन गरी १ वडा १ प्राविधिक शिक्षालय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

हाल कार्यान्वयनमा रहेको विद्यालय सुशासन तथा कर्मचारी व्यवस्थापन कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गरी विद्यार्थी सिकाइ उपलव्धिको परीक्षण र व्यवस्थापन समेत गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि मार्फत हरेक विद्यालयलाई स्मार्ट विद्यालय बनाउने जनाईउको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण,मर्मत सम्भार,सञ्चालन र व्यवस्थापनलाई विशेष जोड दिएको छ । ″ समृद्ध रघुगंगा,सुखी रघुगंगावासी″ को गन्तव्यमा पुगी समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन, जलस्रोत, खानेपानी, सिचाई, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राख्ने नीति लिएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीद्धारा गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रममा गाउँसभाका सदस्य एवम वडा अध्यक्षहरु १ का विल बहादुर फगामी, २ का रिम कटुवाल, ३ का कार्यबहाक अध्यक्ष सम्झना परियार, ४ का रुक बहादुर गर्वुजा, ५ का मनबहादुर शेरपुजा, ६ का मनकुमार शेरपुञ्जा, ७ का दुर्गा पुन र ८ का गमान छन्त्यालले आफ्नो धारणा राख्नुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका बक्ताहरुले खेलकुद, कला संस्कृति, गुणस्तरीय शिक्षा लगायतका क्षेत्रलाई नीति तथा कार्यक्रममा कम प्राथमिकता दिईएको भन्दै सभाका अध्यक्ष भण्डारीको ध्यानकर्षण गराउँदै समृद्ध रघुगंगाको लागि ल्याइएको नीतिलाई परिमार्जन सहित प्रभाबकारी कार्यान्वयनमा जुट्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल गरि ध्वनी मतको आधारमा बहुमतद्धारा पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक बर्षको बजेट पेश गर्नुभएको छ । आगामी असार २० गते बस्ने गाउँसभाले सो बजेटमाथि गाउँ सभा सदस्यहरुको छलफल मार्फत पारित गर्ने जनाईएको छ ।

??