गाउँमा भित्रीएका विकास निर्माण योजनाले रोजगारीको अवसर सिर्जना

  • २ असार २०७६, सोमबार
  • 2424 पटक पढिएको

बेनी २ असार । ग्रामिण क्षेत्रमा पूर्वाधार निर्माणले तिब्रता पाएपछि गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । सडक स्तरोन्नति, भवन, विद्युत, खानेपानी, सिँचाई, नदी नियन्त्रण, पदमार्ग निर्माण जस्ता पूर्वाधार योजना सञ्चालन गरेपछि स्थानीयबासीलाई भ्याई नभ्याई छ । राजनीतिक र प्रशासनिक पहुँचको कमीले पिछदिएका बस्तीमा अहिले करोडौ बजेटका आयोजना सञ्चालन भएका छन् । मालिका गाउँपालिका–४ फुलबारीका महेन्द्र आचार्यले गाउँमा विकाससंगै रोजगारी र आम्दानीको अवसर सिर्जना भएको बताउनुभयो ।

विगतका वर्षमा फुर्सदिला हुने गाउँलेहरु अहिले निकै व्यस्त छन् । करिब असी घरधुरीको बसोबास रहेको फुलबारीमा चालू आर्थिक वर्षमा विभिन्न निकायले एक करोड रुपैयाँ भन्दा बढी बजेटका आयोजना सञ्चालन गरेका छन् । सडक स्तरोन्नती, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, विद्युतीकरण, झोलुङ्गे पुल निर्माण भइरहेको छ । ‘कामको चाप बढेकाले फुर्सद छैन,’ स्थानीय मुक्तिप्रसाद सुवेदीले भन्नुभयो ‘हातमा सिप र क्षमता भएकालाई गाउँमै रोजगारी मिलेको छ ।’ दक्ष मजदुरले दैनिक एक हजार रुपैयाँ भन्दा बढी ज्याला पाउँछन् । अतिरिक्त समय काम गरेको थप ज्याला हुन्छ ।

धवलागिरी गाउँपालिका–६ मराङका प्रेम लामगादेको बीस जनाको मजदुर समूहले तीन महिनायता चार वटा नदी नियन्त्रण योजनामा तटबन्ध निर्माण ग¥यो । यो अवधिमा एक जनाले एक लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको हाल लमसुङ पहिरो नियन्त्रण योजनामा खटिएका लाम्गादे बताउनुहुनछ । संघीय, प्रदेशका निकाय तथा स्थानीय तहहरुले सञ्चालन गरेका पूर्वाधार आयोजनाले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । जिविकोपार्जन र परिवार पाल्नकै लागि न्युन ज्यालामा अदक्ष कामकारको रुपमा बिदेशीएकाले भन्दा गाउँकै योजनामा काम गरेकाले बढी कमाई गरेका धवलागिरी गाउँपालिका–६ मराङका ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।

‘मराङमा यो साल मात्र पाँच करोडका योजना सञ्चालन भएका छन्, गाउँमा यती धेरै बजेट भित्रीएको सम्भवत पहिलो पटक होला,’ गर्बुजाले भन्नुभयो ‘ज्याला मजदुरीबाटै गाउमा करोडौ भित्र्ीएको छ ।’ विगतमा गाविसमा आउने दश÷पन्ध्र लाख रुपैयाँ बजेटबाट विकास आयोजना सञ्चालन हुने गर्थे । बजेटका लागि जिविस र मन्त्रालय धाउनुपर्ने थियो । पहुँच नहुने बस्तीमा बजेट पर्न गाहे थियो ।संघीयता कार्यान्वयनसंगै विकास गतिबिधिले तिब्रता पाएको मराङका चक्र पुनले अनुभव सुनाए । म्याग्दीको विकट र दुर्गम क्षेत्रमा पर्ने मराङ गाउँमा गत वर्ष सडक पुगेको थियो ।

यसपालि पूर्वाधार विकास कार्यालय म्याग्दीले गत वर्ष निर्माण भएको सडक स्तरोन्नति र मराङ देखि छिमेकी गाउँ मल्कवाङ जोड्ने दुई वटा तीन करोड बजेटका आयोजना सञ्चालन गरेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका बाहेक पूजीगततर्फ डेढ अर्ब रुपैयाँ भन्दा बढी बजेट भित्रीएको छ । तर बजेट परिचालनको अवस्था भने कमजोर देखिएको छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा पचास प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च भएको कोलेनिकाले जनाएको छ ।

रिखार दैनिकबाट