रत्तक्यान्सर पिडीत फुलमायाको उपचारका लागि बहराईनबाट सहयोग

  • १४ बैशाख २०७४, बिहीबार
  • 1809 पटक पढिएको

बेनी १४ बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बहराईनबाट एक लाख रुपैया भन्दा बढी सहयोग प्राप्त भएको छ ।


विपी कोईराला क्यान्सर अस्पताल चितवनमा उपचार गराईरहेकी भण्डारीको उपचारका लागि म्याग्दी उद्दार समिति बहराईनले एक लाख १३ हजार रुपैया सहयोग गरेको हो । भण्डारीको उपचारका लागि सहयोग जुटाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ ।

समितिका पुर्व अध्यक्ष राजाराम सुवेदीले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक सन्तोष गौतमलाई बिहीबार बेनीमा रकम हस्तान्तरण गर्नुभएको हो । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले अभियान सञ्चालन गरेको हो ।

अभियानमा यसअघि कतार, बेलायत, ईटली लगायतका देशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त भैसकेको छ भने अमेरीका र दक्षिण कोरीयामा अभियान सञ्चालन भएको छ । भण्डारीको स्वास्थ्यमा सुधार आएको आफन्तहरुले बताएका छन् । रोजगारीको शिलशिलामा एक वर्षअघि कतार गएका फुलमायाका श्रीमान रोशन स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् ।

खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका भण्डारी दम्पत्तीका दुई छोरा र दुई छोरी छन् । उनको उपचारका लागि पन्ध्र लाख रुपैया खर्च हुने अस्पतालले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्दार समिति बहराइनका पुर्व अध्यक्ष सुवेदीले कोषको गतिबिधी प्रभावकारी र गरिब विपन्नका लागी सहयोगी बनेको बताउनुभयो ।

कोषका अध्यक्ष शाक्यको अध्यक्षता र सदस्य सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले संस्थाको डेढ करोड रुपैयाको अक्षयकोषका लागि बहराईनमा आयोजित कार्यक्रममा त्यहाँका म्याग्देलीले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गर्नुभयो ।