मण्डली थानमा समुदायको पहलमा लाखौँ जुटाएर पर्यटन पूर्वाधार निर्माण (फोटो फिचर)

  • १ असार २०७६, आईतवार
  • कमल खत्री
  • 3126 पटक पढिएको

कमल खत्री
बेनी, १ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित ऐतिहाँसिक धार्मिक स्थल मण्डली थानमा समुदायको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गुजुमुजुक्क मिलेको मगर समुदायको बाहुल्यता रहेको चिमखोला गाउँको शिरमा रहेको मण्डली थानमा जानको लागि आकर्षक पदमार्ग, थानको संरक्षणको लागि घेराबार लगायतका पूर्वाधार निर्माण गरिएको हो । स्वदेश तथा विदेशमा रहेका चिमखोलाबासीको अगुवाईमा आर्थिक संकलन गरि मण्डली थानमा पदमार्ग निर्माण गरिएको छ । गाउँको शिरबाट थान सम्म पुग्नको लागि करिब २ सय मिटर चिटिक्क मिलेको पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा रु १० लाख ९७ हजार खर्च भएको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर पुनले बताउनुभयो ।

‘‘ गाउँवरपर सिढी चिन्ने ढुंगा पाउन सकिएन, गाउँदेखि तीन घण्टा टाढाको जंगलमा ढुंगा फोरेर ल्याएका छाँै, निर्माण भएको पदमार्गमा रेलिङ हालेर थप व्यवस्थित बनाउने योजना छ’’– निर्माण समितिका अध्यक्ष पुनले भन्नुभयो । गाउँदेखि मण्डली थान जाने साँघुरो बाटोमा ढुंगा चिनेर फराकिलो पदमार्ग निर्माण भएपछि भक्तजन र पर्यटकहरुलाई आवत जावतमा सहजता मिलेको छ ।मण्डली थानमा पूर्वाधार निर्माणको लागि चिमखोलाबासी संगै अन्य सहयोगदाताहरुले समेत आर्थिक सहयोग गरेका छन् । पूर्वाधार निर्माणको लागि रु २९ लाख बढी रकम संकलन भैसकेको मण्डली थान संरक्षण समितिका अध्यक्ष याम बहादुर रोकाले बताउनुभयो ।

उहाँका अनुसार, थानमा आएर पुजा गरेका व्यक्तिहरुबाट स्वतस्र्फुत रुपमा पूर्वाधार निर्माणको लागि सहयोग आउने क्रम जारी छ । ‘‘ हामीले थानमा जाने पदमार्ग बनाउने योजना मात्रै बनाएका थियौँ, सहयोग गर्नेहरुको संख्या सोचेभन्दा राम्रोसंग बढ्यो, अब बाँकी रहेको बजेटबाट खानेपानी, प्रवेशद्धार , विजुलीको सुविधा पु¥याउने लगायतका थप पूर्वाधार निर्माण गछौँ’’–अध्यक्ष रोकाल भन्नुभयो । मण्डली थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय अग्रसर भएका छन् ।

थानको संरक्षण र पर्यटन पूर्वाधार निर्माणमा गाउँपालिकाले समेत सघाउन थालेको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिका मार्फत विनियोजन भएको रु ८ लाख ५० हजार बजेट मार्फत मण्डली थानमा घेराबार समेत गरिएको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुनले जानकारी दिनुभयो ।

                        भाकल पुरा हुने जनविश्वास ः
उजेली मंगलवार बिशेष पुजाआजा हुने मण्डली थानमा दर्शन र पुजाआजा गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । खासगरि चैतमा हुने भुमे पुजाको अवसरमा मण्डली थानमा आफ्नो मनोकांक्षा पुरा गर्न भाकल गर्ने र पुरा भएमा भाकल बमोजिमको पुजा गर्न स्वदेश तथा विदेशमा पुगेका नेपालीहरु समेत आउने गर्छन् । सुख, शान्ति, सन्तान र सम्पतीको लाभको मनोकांक्षा पुरा हुने भएकाले यहाँ भुमे पुजामा हजारौँको भिड लाग्ने गर्छ । मण्डली थानमा पुजा गर्दै गरेका रघुगंगा गाउँपालिका–३ मौवाफाँटका सुरज भण्डारीले मण्डलीले मनोकांक्षा पुरा गर्ने भएकाले आफु एक दिनको पदयात्रा गरि पुजा गर्न पुगेको बताउनुभयो ।

मण्डलीलाई सम्झीएर गरिएको योजना सफल भएपछि भाकल पुजा गर्न स्वदेशबाट मात्रै नभईकन विदेशमा पुगेका स्थानीयहरु समेत बर्षेनी मण्डली थान पुग्ने गर्छन । यस मण्डली थानमा पाठीको बली, नरिवल चढाउने चलन रहेको छ भने मण्डली बजैको नाममा महिलाले लगाउने चोलो, ढाकाको रुमाल, साडी लगायतका नयाँ वत्र समेत चढाउने गरिन्छ ।

                            यस्तो छ मान्यता
चिमखोलाको गाउँदेखि माथि मुलखर्कमा मालिकाको पुर्जा गर्ने चलन छ । यसै मालिकामा पुजा गर्न गएकी जलजला गाउँपालिकामा पर्ने मल्लाजकी ठकुरी समुदायकी मण्डली बजैलाई सिद्ध बाजेले विवाहको प्रस्ताब राखेका रहेछन् । मण्डली बजैले सिद्ध बाजेको प्रस्ताब नमानेपछि यसै ठाउँमा अलप भएकी थिइन् ।

पछि स्थानीय पुर्जा झाँक्रीले अल्पीएकी मन्डली बजै अलप भएको ठाउँको पत्ता लगाएका थिए । झाँक्रीले भने बमोजिम कन्य बालिकाले दुधेलोको रुख जहाँ भेट्छीन त्यही नै मण्डली बजै अलप भएको ठाउँ रहने भन्ने मान्यताको आधारमा अहिलेको मण्डली थानको उत्थान गरिएको थानका पुजारी हिमबहादुर पुनले बताउनुभयो । मण्डली थानमा दुधेलोको रुख भेटाउने विसमिका चोचाङ्गी नाम गरेकी बालिका रहेको स्थानीय बताउँछन् ।

                          यसरी सुरु भयो मण्डलीको संरक्षण
मनोकांक्षा पुरा हुन थालेपछि स्थानीयकै अग्रसरतामा मण्डली थानको संरक्षण तथा पूर्वाधार निर्माण सुरु भएको हो । यो थानमा अहिलेको व्यवस्थित पदमार्ग देखि थानका मन्दिर र भक्तजनको सहजताको लागि बनाइएका टहरा समेत समुदाय र भक्तजनकै अग्रसरतामा निर्माण भएका हुन् ।

स्थानीयबासी समेत रहेका नेपाली सेनाको जर्नेल रमेश पुनको पहलमा मण्डली थान परिसरमा ट्रसको भवन निर्माण भएको थियो । मण्डली थानमा रहेका तीन वटा थान सुवेदार पबहादुर पुन र कर्णबहादुर तिलिजाका घरपरिवार तथा क्याप्टेन पदम बहादुर पुनले निर्माण गरेका हुन् । मण्डली थान वरपर अन्य पूर्वाधारहरु समेत समुदायकै अग्रसरतामा निर्माण गरेका हुन् । मण्डली थान वरपरको जग्गा समेत समुदायबाटै उपलब्ध गराइएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l