धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण (फाेटाे फिचर)

  • ३० जेष्ठ २०७६, बिहीबार
  • कमल खत्री
  • 3010 पटक पढिएको

कमल खत्री

बेनी, ३० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख बजेटबाट नाउराभिरदेखि सल्लाघारी सम्म पदमार्ग मर्मत गरिएको छ ।

सो खण्डको ९ किलोमिटर ४०० मिटर अप्ठ्यारो पदमार्गमा बाटो फराकिलो बनाउने र ढुंगाको सिँढी चिनेर पदमार्ग मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, ६० प्रतिशत खण्डमा साँघुरो बाटो फराकिलो बनाउने र ४० प्रतिशत खण्डमा ढुंगाको सिँढी चिनेर पदमार्ग बनाईएको छ ।

त्यसैगरि सो बजेटबाट बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्क सम्मको पदमार्ग समेत मर्मत गरिएको छ । यो बर्ष संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट इटालीक्याम्पदेखि स्विस क्याम्प सम्मको पदमार्ग समेत निर्माण गरिएको छ ।

करिब २ किलोमिटर ५ सय मिटर पदमार्गलाई मर्मत र फराकिलो बनाईएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिनुभयो । इटाली क्याम्पसका एक मात्रै होटल व्यवसायि समेत रहनुभएका तिलिजाका अनुसार, पदमार्ग निर्माण संगै धौलागिरी आधार शिविर र चक्रिय धौलागिरी र हिमाल आरोहणको लागि जाने पर्यटकहरुलाई सहज भएको छ ।

उहाँका अनुसार, हिम पहिरोले बगाएको ठाउँमा भिरमा नयाँ पदमार्ग बनाईएको छ भने चौरवनदेखि इटाली क्याम्प सम्मको अप्ठ्यारो ठाउँको पदमार्गलाई फराकिलो बनाइएको छ । बजेटको स्टिमेट अनुसार १७ सय मिटर पदमार्ग निर्माण गर्नुपर्ने भएपनि रकम बचत भएपछि करिब १ किलोमिटर पदमार्ग थप मर्मत गरिएको हो ।

यो बर्ष नै इटाली क्याम्पमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३२ लाख बजेट बाट सुचना केन्द्र र आकस्मिक स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भएको छ । मन्त्रालयको अनुदान, स्थानीयको जनश्रमदान र गाउँपालिकाको १० प्रतिशत लगानीमा सुचना केन्द्र र आकस्मिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

पदमार्ग अन्र्तगत सबैभन्दा जोखिमपूर्ण मानिने नाउराभिरमा तत्कालिन द्धन्दको समयमा माओवादीले श्रम शिविर तथा पर्यटकहरुबाट चन्दा उठाएर पदमार्ग निर्माण सुरु गरेको कार्यलाई शान्ति स्थापनापछि तत्कालिन जिविस र गाविस मार्फत विनियोजन भएको बजेटबाट भिरमा पदमार्गको ट्याक निर्माण भएको थियो । मनोरम हिमसृङ्खला संगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य यस पदमार्गको मुख्य आकर्षण रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l