कार्यपालिका सदस्यहरुले नगरसभाको माग

  • २९ जेष्ठ २०७६, बुधबार
  • 2035 पटक पढिएको

म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाको जेठ ३ गते बसेको ४० औँ बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा उत्पन्न विवाद समाधान हुन सकेको छैन् । विवादपछि लामो समय नगरसभा नुहदाँ आगामी बर्षको योजना तर्जुमा कार्यक्रम अन्योलता भएपछि नेकपा निकट जनप्रतिनिधिहरुले नगरसभा बोलाउन माग गरेका हुन् ।


स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाका २४ जना सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको माग गरिएको पत्र मंगलबार नगरप्रमुख हरिकुमार श्रेष्ठलाई पठाएका हुन्। पत्र बुझाउन जाँदा नगरप्रमुख श्रेष्ठ कार्यकक्षमा नभेटिएको र प्रशासनले दर्ता गर्न नमानेपछि हुलाकमार्फत रजिष्टेशन गरेर पठाइएको बेनपा ८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले बताए।
नगरप्रमुखले वास्ता नगरेपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिक्षेद ४ दफा १९ को उपदफा ३ मा भएको व्यवस्था अनुसार बाध्य भएर बिशेष नगरसभा बोलाउन माग गरिएको प्रवक्ता बराइलीले बताए ।

विशेष नगरसभा माग गरिएको मितिले १५ दिनभित्र सभा बोलाउनुपर्ने नीतिगत व्यवस्था छ। दुवैपक्ष एकले अर्कालाई गलाउने रणनीतिमा देखिएकाले नगरपालिकाको कामकाज, विकास गतिबिधि, बजेट निर्माण, सेवा प्रवाहमा असर परेको छ । जेठ ३ गतेको कार्यपालिका बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा नगरप्रमुख श्रेष्ठ र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुबीच उत्पन्न बिवादका कारण आगामी आर्थिक वर्षको बजेट तयारी प्रभावित भएको छ।

बिवादका कारण नगर प्रमुख श्रेष्ठ र नेकपा सम्बद्ध कार्यपालिका सदस्यबीच बोलचाल बन्द भएको छ। बैठक बस्न सकेको छैन् । नगरपालिकको काम कारबाही र गतिविधि अस्तव्यस्त बनेको छ।

बहुमत कार्यपालिका सदस्यले शिक्षा, युवा तथा खेलकुद शाखामा जयराम सुवेदी र मोहन बानियालाई नियुक्त गर्ने निर्णय गरेका थिए । जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरु मेयर र नेकपा निकट कार्यपालिका सदस्यहरुविच राजनीतिक झगडाले नगरबासी निराश बनेका छन् ।