मंगलाको छैटौँ गाउँसभा सम्पन्न, रघुगंगाले असार ५ मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

  • २९ जेष्ठ २०७६, बुधबार
  • 1549 पटक पढिएको

बेनी २९ जेठ । मंगला गाउँपालिकाको छैटौ गाउँसभा बाबियाचौरमा सम्पन्न भएको छ । गाउँसभाले चालू शिर्षकको ४२ लाख रुपैयाँ बजेट पुजिगत शिर्षकमा रकमान्तर गरेर पूर्वाधार योजनाहरुमा बिनियोजन गरेको छ । भ्रमणभत्ता १० लाख, कर्मचारी पारिश्रमिक २२ लाख, कर्मचारी कल्याण कोष पाँच लाख र तालिम तथा गोष्ठिको पाँच लाख रुपैयाँ भौतिक पूर्वाधार सम्बन्धी योजनामा वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताउनुभयो ।

यसैगरी कुहुँ, बाबियाचौर र अर्मनका तीन वटा योजनामा बिनियोजन भएर खर्च हुन नसकेको क्रमश : १८/१८ र बीस लाख रुपैयाँ अन्य योजनाहरुमा रकमान्तर गरेको छ । असार ५ गते नीति तथा कार्यक्रम तथा १० गते बजेट पेश गर्ने निर्णय भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था, उपलब्धि र आगामी वर्षको योजना तर्जुमाको विषयमा छलफल भएको थियो ।

यसैगरी मंगला गाउँपालिकाको बाबियाचौरमा जनप्रतिनिधि र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी पुनताजकी चार दिने तालिम मंगलबारदेखि सुरु भएको छ । तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुहुने जनाइएको छ । यस्तै मंगला गाउँपालिकाको सहयोग र असल छिमेकी नेपाल काठमाडौको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म २४ जनालाई ग्रामिण प्राथमिक उद्दार कर्ता तालिम सम्पन्न भएको छ । यसैगरी गत महिना सञ्चालन भएको एभोकाडो खेती सम्बन्धी तालीममा सहभागी ४० जना कृषकहरुलाई अनुदानमा एक हजार एभोकाडोका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा मंगलबार मौवाफाँटमा बसेको कार्यपालिका बैठकले आगामी असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । पाँच लाख रुपैयाँ भन्दा कम बजेटका टुक्रे योजना निरुत्साहीत गर्ने, प्रत्येक वडामा गौरवका आयोजना सञ्चालन गर्ने लगायतका विषयलाई महत्वका साथ नीति तथा कार्यक्रम बनाउन लागिएका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । सबै बस्ती र वडाबाट माग भएका योजना एकिकृत गरि विषयगत समितिमा छलफल सुरु गरिएको छ । अन्य स्थानीय तहहरु पनि आगामी बर्षको बजेटको तयारीमा जुटेका छन् ।