आफन्तको स्मृतिमा देविस्थान मन्दिर पुनःनिर्माण

  • २९ जेष्ठ २०७६, बुधबार
  • 3647 पटक पढिएको

बालकुमार फगामी
देविस्थान २९ जेठ । मालिका गाउँपालिका ५ मा रहेको ऐतिहाँसिक तथा धार्मिक महत्वको देविस्थान मन्दिरको पुनःनिर्माण गरिएकोे छ । स्वर्गीय दलबहादुर र तुलसीदेवी पुनको स्मृतिमा उहाँका छोरीहरु तमसरा गर्बुजा (बिम हाल हङकङ) र सुर्यकुमारी सिङथानी (मगरदाङ हाल पोखरा)को १७ लाख रुपैयाँ सहयोगमा मन्दिरको पुनःनिर्माण भएको निर्माण संयोजक गमबहादुर गर्बुजाले बताउनुभयो ।

यसअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर बनाइएको मन्दिर जिर्ण भएपनि त्यसलाई भत्काएर पक्कि बनाइएको हो । बाजागाजा र धार्मिक बिधी प्रक्रिया पुरा गरेर मन्दिर पुननिर्माणका क्रममा अर्को ठाउँमा राखिएका मुर्तीहरुलाई पुननिर्माण पछि मन्दिरमै प्राणप्रतिष्ठा गरिएको छ ।

ऐतिहाँसिक महत्वको यस मन्दिरको पुनःनिर्माणले धार्मिकका साथै पर्यटन विकासमा समेत सहयोग पुगेको बताउँदै वडा अध्यक्ष पिपला बुढाले सहयोगदातालाई धन्यवाद दिनुभयो । उभौली, उधौली र दशै पर्वमा बिशेष पुजाआजा हुने गरेको स्थानीय निमबहादुर पुनले बताउनुभयो ।
देविस्थान मन्दिरमा पुजाआजा गरेर मागेको कुरा पुरा भएमा राँगो, साड र बोका बली चढाउने चलन छ । यही मन्दिरबाट देविस्थान गाउँको नामाकरण भएको इतिहाँस छ ।