मालिकामा योजना तर्जुमा सुरु

  • २९ जेष्ठ २०७६, बुधबार
  • 1461 पटक पढिएको

तुलप्रसाद पुन
ओखरबोट २८ जेठ । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्जुमा गोष्ठि भएको छ ।


सो गोष्ठिमा माग भइ आएका योजनाहरुको छलफल गरि प्राथमिकीकरण गरिएको थियो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, वडा सचिव रमाकान्त घिमीरेको सञ्चालन र वडा सदस्य उद्बिर रसाइलीको स्वागत मन्तब्यमा कार्यक्रम भएको थियो ।गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु र कार्यपालिका सदस्य गौमती चपाइले धेरैलाई समेट्ने, जनसहभागिता जुटाउन सकिने र उपलब्धि देखिने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । चालू आर्थिक वर्षका योजनाहरु समेत छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।

यसैगरी वडा न. ६ को दुखुबेशीमा पनि योजनाको माग संकलनका लागि टोल भेला भएको छ । वडा अध्यक्ष सन्तोष सुवेदीको उपस्थितीमा भएको भेलाका सहभागिहरुले भाले बास्ने ताललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजना बनाउन सुझाव दिएका थिए । अन्य वडाका बस्तीहरुमा पनि योजना तथा कार्यक्रम छनौटको काम भइरहेको छ ।