सैनिक बोर्डको कार्यालय उद्घाटन

  • २८ जेष्ठ २०७६, मंगलवार
  • 1893 पटक पढिएको

 

बेनी २८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको जिल्ला सैनिक वोर्डको कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयको भारतीय राजदुतावासका रक्षा सहचारी कर्णेल अवनिश चाम्बीयलले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनपछि कर्णेल चाम्बीयलले गोर्खाहरुले भारतीय सैनिकमा उच्च योगदान गरेको प्रशंसा गर्नुभयो । गोर्खाहरुको योगदानले नेपाल र भारतको सम्बधलाई प्रगाढ बनाएको चर्चा गर्नुभयो ।
भारत सरकारले भूपु गोर्खा सैनिकहरुको लागि पेन्सनको व्यवस्थाका साथै विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । भूपुहरु स्वदेश फर्कीएपछि समाजको स्तम्भको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गर्नुभयो ।

समाजको लागि इमानदारीताका साथ काम गरेकोमा धन्यवाद दिनुभयो । पेन्सन बैङ्क खाता मार्फत वितरण गरिएपनि भूपु र उनिहरुको परिवारका प्रशासनिक कामका लागि सैनिक बोर्डको कार्यालय स्थापना भएको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले म्याग्दीका भुपु र तीनका परिवारमा नामथर संसोधन, बसाइसराई, विवरण अद्यावधिक गर्ने लगायतका समस्या रहेको बताउनुभयो । भारतीय सैनिकको विवरणमा परिवारको सदस्यको नाम एउटा र नागरिकतामा अर्कै पर्ने जस्ता समस्या हुने गरेको बताउनुभयो ।

जिल्ला सैनिक बोर्ड म्याग्दीका सेक्रेटरी सोमबहादुर थापाको अध्यक्षता, भुपु सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका सचिव खुमबहादुर बानियाको सञ्चालन र अध्यक्ष मिनबहादुर कार्कीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।सैनिक बोर्डको कार्यालय बेनीमा स्थापना भएपछि पेन्सन सम्बन्धी कामका लागि बागलुङ, पोखरा पुग्नुपर्ने म्याग्दीका पूर्व गोर्खा सैनिकहरुको बाध्यता हटेको छ । पेन्सन वितरण, पेन्सनपत्ता नविकरण लगायत कामका साथै स्वास्थ्य शिविर लगायत धेरै किसीमका सेवाहरु पनि पाइने भएको छ ।

म्याग्दीका भुपु गोर्खा सैनिकहरुले २०५८ देखि बेनीमा सैनिक बोर्डको कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए । म्याग्दीमा चार हजार जनाको हाराहारीमा भारतीय पूर्व गोर्खा सैनिक रहेका छन् ।एभरेष्ट बैङ्कमा खाता भएका भारतीय पेन्सरनहरुलाई बेनीको भुपु सैनिक सहकारी संस्था मार्फत पेन्सन भुक्तानी गरिदै आएको छ । एसबिआइ बैङ्कको पनि बेनीमा शाखा स्थापनाका लागि पहल गरिएको केन्द्रले जनाएको छ ।