रघुगंगामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

  • २६ जेष्ठ २०७६, आईतवार
  • 2963 पटक पढिएको

सन्तोष गौतम
दग्नाम २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु गरेको छ । पूर्वाधार विकाससँगै बेरोजगार युवा युवतिलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघीय सरकारको कार्यक्रम अनुसार रघुगंगा गाउँपालिकाको ४ नम्बर वडा दग्नाममा आयोजनाको सुभारम्भ गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले दग्नामको कान्छीगाउँ पहिरो नियन्त्रण योजनामा परिचालन भएका मजदुरहरुलाई निर्माण सामग्री प्रदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । अध्यक्ष भण्डारीले कुइनेमंगलेमा पनि पदमार्ग निर्माणका लागि कार्यक्रम अन्तरगत युवा मजदुर परिचालन गरिएको जानकारी दिदै अन्य वडाहरुमा पनि एक दुई दिनमै आयोजना सुरु हुने बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा छ सय जनाले वडा मार्फत बेरोजगार फारम भरेका छन् । फारम भरेका मध्य विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको रोजगार कार्यक्रम संयोजक पवित्रा भण्डारीले बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालयले रघुगंगालाई २९ लाख रुपैयाँ बजेट पठाएको छ । जसको २५ प्रतिशत साझेदारीका लागि निर्माण सामग्री खरिद गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ ।


सात लाख ५० हजार रुपैयाँ काममा परिचालन हुने मजदुरका लागि आवश्यक औजार, पोशाक, उपकरण खरिदका लागि तोकेर बजेट आएको छ । बीस लाख तीस हजार रुपैयाँ दैनीक ५० रुपैयाँ प्रतिव्यक्तिका दरले ज्यालाको रुपमा वितरण गरिने भएको छ । सबै वडामा योजना छनौट गरेर बेरोजगार युवा युवतीहरुलाई परिचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।