साझपानीमा महिलाहरु सामुहिक खेतीमा

  • २५ जेष्ठ २०७६, शनिबार
  • 4157 पटक पढिएको

 

भगवती २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको साझापानीका महिलाहरुले सामुहिक खेती सुरु गरेका छन् । स्थानीय सिर्जनशिल आमा समूहको अगुवाइमा सामुहिक रुपमा व्यवसायिक मौसमी र बेमौसमी तरकारी खेती सुरु भएको हो ।

३० जना महिलाहरु आवद्ध समूहको अगुवाईमा महिलाहरुको आयआर्जन वुद्धीका लागि तरकारी खेती सुरु गरिएको समूहकी अध्यक्ष सन्तु भण्डारीले बताईन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा खेती सुरु गरिएको हो ।

मन्त्रालयले सामुहिक खेतीका लागि समूहलाई छ लाख पचास हजार रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती सुरु गरिएको समूहकी सचिव बिन्दु भण्डारीले जानकारी दिईन ।

५ वटा व्यक्तिगत र ४ वटा सामुहिक टनेल निर्माण गरेर खेती सुरु गरिएको छ । थप चार वटामा तरकारी खेती सुरु गर्ने तयारीमा छन् । खुर्सानी, मुला, चौमासे सिमी, टमाटर, जागर, तिते करेला, मेथी, बन्दा, काउली, काँक्रा, रामतोरीया, घिरौला, जुगेनी, तने बोडी, अदुवा लगायत जातका तरकारी खेती गरिएको छ ।

घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तीका साथै आम्दानीको अवसर सिर्जना गर्न खेती गरिएको हो । गाउँमै तरकारी उत्पादन गरेमा बजारबाट आयात गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको छ । सो समुहले गरेको सामुहिक तरकारी खेतीको बिहीबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको छ ।
सो अवसरमा मन्त्री थापाले कृषि र पर्यटनको माध्यमबाट आयआर्जनको अवसर सिर्जना गरि महिलाको सशक्तिकरण गर्न सकिने बिचार व्यक्त गरेकी थिईन । देशका ३० जिल्लाका ४७ वटा महिला सहकारी, समूह र संस्था मार्फत चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको बताईन ।
म्याग्दीमा बेनीको नारी जागृती महिला विकास र बाबियाचौरका जनआदर्श महिला सहकारीले पनि अनुदान पाएका छन् । यसैबीच मन्त्री थापाको टोलीले भगवतीको रुइसेमा निर्माणाधिन धौलागिरी आइसफल पदमार्ग र भ्यु टावरको पनि अवलोकन गरेका थिए ।