७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन, थप गर्ने जानकारी छैन : निर्वाचन आयोग

  • १३ बैशाख २०७४, बुधबार
  • 2041 पटक पढिएको

निर्वाचन आयोगले ७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन हुने स्पष्ट पारेको छ ।

सरकारले स्थानीय तहको संख्या थप गर्ने तयारी गरिरहेका बेला आयोगले ७ सय ४४ वटा तहमा मात्रै निर्वाचन गर्न सकिने प्रष्टयाएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले तोकिएको ७ सय ४४ वटा तहमा मात्रै स्थानीय तहको निर्वाचन हुने स्पष्ट पारे ।

कान्तिपथस्थित आयोगको कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संख्या थप गरेर स्थानीय तहको निर्वाचन गर्ने कुरामा आफूहरु अनविज्ञ रहेको प्रतिक्रिया पनि दिए ।


सरकारले तराई/मधेशका ११ जिल्लामा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गरी दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने तयारी गरेको छ । यता निर्वाचन आयोगले भने संविधानले तोकेको परिधिभित्र रहेर ७ सय ४४ वटा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जनाएको छ । निर्वाचन आयोगले ७ सय ४४ वटा स्थानीय तहको निर्वाचन गर्ने सार्वजनिक सूचना यस अघि नै जारी गरिसकेको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीलाई पनि अघि बढाइएको पनि जनाएको छ । जेठ ३१ गते दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापनको कामलाई पनि अघि बढाइएको प्रवक्ता शर्माले बताए । आयोगले दोस्रो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा आइसकेको पनि जनाएको छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मतदान अधिकृतहरुलाई तोकिएको मतदान केन्द्रमा पठाउने काम सुरु गरिएको जनाएको छ ।

source: ratopati