भगवतीमा स्वास्थ्य शिविर सम्पन्न

  • २५ जेष्ठ २०७६, शनिबार
  • 1813 पटक पढिएको

 

म्याग्दी २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट पाँच सय पचास जना भन्दा बढी लाभान्वित भएका छन् ।समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य सेवा कोषले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र रघुगंगा गाउँपालिकाको व्यवस्थापनमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

रघुगंगा गाउँपालिकाको बेग, भगवती, पिप्ले, दग्नाम र झिँका ५५४ जना सर्वसाधारणले शिविरबाँट सेवा लिएका गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले जानकरी दिए ।सर्वसाधारणहरुलाई निशूल्क स्वास्थ्य परिक्षण, मोतियाबिन्दुका बिरामीहरुको पहिचान गरी शल्यक्रिया गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराकी डाक्टर हरिमाया गुरुङ, बेनी अस्पतालकी डाक्टर मनु बिक र डाक्टर रुपक श्रेष्ठको टोलीले स्वास्थ्य परिक्षण, परामर्श, शल्यक्रीया र निशूल्क औषधी वितरण सेवा दिएको थियो ।

शिविरमा ३५१ जनाको आँखा परिक्षण गरिएकोमा १६ जनाको मोतियाबिन्दु र पाँच जनाको माइनर शल्यक्रिया गरिएको संयोजक शाहीले जानकारी दिनुभयो । सदरमुकाम बेनी, प्रदेश राजधानी पोखरा लगायत सहरी क्षेत्रका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा शिविर सञ्चालन गरिएको हो ।