सरकार सर्वसत्ताबादको बाटोमा अग्रसर : अध्यक्ष थापा

  • २५ जेष्ठ २०७६, शनिबार
  • 2142 पटक पढिएको

 

बेनी २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादको बाटोमा अग्रसर भएको बताउनुभएको छ ।राप्रपा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तिहाई बहुमतको आडमा संवैधानिक निकाय र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोज्नु सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको संकेत भएको बताउनुभयो । सञ्चार माध्यमसंग सम्बन्धित मिडिया काउन्सिल बिधेयक मार्फत प्रेसलाई नियन्त्रीत र संकुचित बनाउन खोजेको थापाले टिप्पणी गर्नुभयो ।

संवैधानिक अंगहरु, न्यायपालिका र सुरक्षा अंगहरुमा पार्टीको प्रभावलाई बलीयो बनाउने र अन्य पेशा व्यवसायमा संलग्नहरुप्रति गरेको कठोर व्यवहारले सरकार गलत बाटोमा अघी बढेको संकेत गर्ने थापाको भनाई थियो ।सरकारले आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक गरेको बितरणमुखी बजेट जनअपेक्षा अनुसारको नभएको बताउनुभयो । उहाँले देशको प्रमुख समस्या बेरोजगारी अन्त्यका लागि ठोस योजना नदेखिएको र भ्रष्ट्राचार नियन्त्रणका लागि ओठे भाषण बाहेक नीतिगक सुधारको पहल नभएको भन्दै आलोचना गर्नुभयो ।

मुस्ताङको मुक्तिनाथबाट शुक्रबारदेखि सुरु भएको दोस्रो चरणको राष्ट्रिय स्वाभीमान यात्राका क्रममा पार्टीका विभिन्न नेताहरु सहित म्याग्दी आउनुभएका अध्यक्ष थापाले बेनीमा आयोजित आमसभालाई पनि सम्बोधन गर्नुभयो ।उहाँले राजावादी देखि विप्लपसम्म अटाउने मौलिक लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोजेसम्म देशमा शान्ति, स्थायित्व र विकास सम्भव नहुने बताउनुभयो । नेपालको पहिचान जोगाउनका लागि धर्मनिरपेक्षतालाई कायम गरेर पनि हिन्दु राष्ट्र कायम गर्न सकिने बताउनुभयो ।


हिन्दु राष्ट्र, राजतन्त्रको पुनस्थापना, बेरोजगारी र भ्रष्ट्राचारको अन्त्यका लागि खबरदारी गर्ने उद्देश्यले मुक्तिनाथबाट सुरु गरिएको स्वाभीमान यात्रा अन्तरगत म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, लमजुङ र गोरखामा आभसभा तथा ¥याली गरिने भएको छ ।

विगतको कमजोरीलाई समिक्षा गरेर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको मुद्दालाई पुनबिचार गर्नुपर्ने उहाँको भनाई थियो । योजनावद्ध रुपमा धर्मनिरपेक्षता घोषणा गरेर धर्म परिवर्तन गराउनेलाई अनुकुल वातावरण बनाएर नेपालको मौलिक हिन्दु र वुद्ध धर्मको अस्तित्व खतरामा पार्न खोजिएको उहाँले बताउनुभयो ।

सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमा प्रशासनिक र ब्यापारिक क्षेत्रको त्रिकोणात्मक गठबन्धन बनाएर लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएकाले भ्रष्ट्राचार बढेको थापाको भनाई थियो । सुनकाण्ड, वाइडवडी, सरकारी जग्गा अतिक्रमण जस्ता भ्रष्ट्राचारजन्य गतिबिधिमा सत्ता र प्रतिपज्ञ दुवै राजनीतिक शक्तिको मिलेमतो भएकाले दोषि पहिचान र कारबाही हुन नसकेको थापाको भनाई छ ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षता, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको स्वागत र नेता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका उपाध्यक्ष भिमप्रसाद गौचन, प्रवत्ता भुवन पाठक लगायतले सम्बोधन गर्नुभएको थियो ।