म्याग्दीमा मनाईयो छुवाछुत मुक्त दिवसः अन्तरजातिय विवाह गरेका १५ दम्पती सम्मानीत (फोटो फिचर)

  • २१ जेष्ठ २०७६, मंगलवार
  • कमल खत्री
  • 4850 पटक पढिएको

म्याग्दी २१ जेठ । म्याग्दीमा अन्तरजातिय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । १४ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । बृहत अन्र्तक्रिया एवम दिवसको अवसरमा सञ्चालन गरिएको साताव्यापि दलित शसक्तिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्लाको विभिन्न ठाउँमा अन्तरजातिय विवाह गरेका जोडिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपाकिलाका उपमेयर सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मा लगायतले अन्तरजातिय विवाह गरेका दम्पतीलाई दोसल्ला ओढाएर सम्मापत्रद्धरा सम्मान गरेका थिए । जातिय विभेदलाई हटाउन अन्तरजातिय विवाहले सकरात्मक भुमिका खेल्ने र उनीहरुको हौँसलाको लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा जिसस प्रमुख केसीले छुवाछुत मुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनको लागि राजनीतिक पार्टी र सामाजिक अगुवाहरुले समाजमा जनचेतना फैलाउन आबश्यक रहेकोमा जोड दिए । उनले मानिस– मानिस बिचमा हुने विभेद कुनै पनि दृष्टिकोणमा सहि नभएको उल्लेख गर्दै हरेक जातजाति बिचमा पारस्परिक मानविय सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सभासद एवम नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काँग्रेस म्याग्दीका सचिब मिन बहादुर कार्की लगायतले जातिय विभेद सामाजिक अपराध हुने भएकाले दोषिमाथि कानुन बमोजिम कारबाही हुनेमा जोड दिए ।

 

कार्यक्रममा दलित अधिकारकर्मी टेक बहादुर विक, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालु, बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईली, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रघुगंगा गाउँपालिका –३ का वडा सदस्य सम्झना परियारले दलित समुदायको अधिकार प्रत्याभुति गर्न राज्य गम्भिर हुन नसकेको गुनासो गर्दै आफ्नो क्षेत्रबाट दलित समुदायको शसक्तिकरणको लागि रचनात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा दलित अगुवा गव्बे परियार, मनकुमारी विश्वकर्मा, सुवास विश्वकर्मा लगायतले छुवाछुतको अहिलेको अबस्था र सरोकारवालाको भुमिकाबारे ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा दलित अधिकारकर्मी पुस्कर विकले दलित मुक्ति र अवको दिशा बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक रेखाकौसल रेग्मी र नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले टिप्पणी गरेका थिए । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले दिवसको अवसरमा मंगलबार बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुभारम्भ गरेको कार्यक्रम अन्र्तगत साताव्यापि रुपमा विभिन्न कार्यक्रम समावेश गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका संयोजक विश्वकर्माको अध्यक्षता, याम किसानको स्वागत र अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l