‘अन्नपूर्ण हिमाल आरोहणको ७० बर्ष’ ! किन गुमनाम छ अन्नपूर्ण हिमाल ?( फोटो फिचर)

  • २० जेष्ठ २०७६, सोमबार
  • 3541 पटक पढिएको

सन्तोष गौतम
म्याग्दी २० जेठ । राज्यको उपेक्षा, समुदाय र सरोकारवालाहरुको बेवास्ताका कारण म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल ओझेलमा परेको छ । विश्वको दशाँै र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण पदयात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ४ नम्बर वडामा पर्ने नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा पुगिने अन्नपूर्ण प्रथम आधार शिविर गुमनाम भएको हो ।

 


सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । आज अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको सत्तरी वर्ष सुरु हुदैछ । आरोहण भएको सत्तरी वर्षसम्म पनि अन्नपूर्ण प्रथम हिमाल र आधार शिविर म्याग्दीमा पर्छ भन्ने विषयमा सरोकारवालाहरु बेखबर जस्तै छन् । विश्वमै पहिलोपटक ८ हजारभन्दा उच्च हिमाल आरोहण गरेको उक्त बेस क्याम्पमा ६९ वर्षपछि बल्ल पर्यटक फाट्टफुट्ट जान थालेका छन् । हर्जाेगले अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सर्वाेच्च चुचुरो सगरमाथामाथि मानव पाइला परेको थियो ।

त्यसैले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल भनिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायामा म्याग्दीको अन्नपूर्ण आधारशिविर परेकाले वर्षौंदेखि यहाँको पर्यटन उद्योग पछि परेको छ । राज्यका निकायको उपेक्षा, पूर्वाधार र प्रचारप्रसारको अभावमा अन्नपूर्ण हिमाल ओझलमा परेको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । ‘अन्नपूर्ण हिमालको प्रथम आधार शिविर म्याग्दीमा पर्छ भन्ने तत्थ्य आठ वर्षअघि पत्ता लागेको थियो,’ गुरुङले भन्नुभयो ‘यसको विकास र प्रर्वद्धन हुन नसक्दा म्याग्दीबासीका लागि यो हिमाल आफ्नै शिरको टोपी चिन्न नसके सरह भएको छ ।’

यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको हो । भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर राज्यको उपेक्षाको शिकार भएको स्थानीय अगुवा सुवास विश्वकर्मा बताउनुहुन्छ । ‘पूर्वाधार, पहिचान र प्रर्वद्धनमा ध्यान नदिदाँ अन्नपूर्ण हिमालको पर्यटन विकास हुन सकेन्,’ विश्वकर्मा भन्नुहुन्छ ‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण र सम्भावना भएर पनि अन्नपूर्ण आधार शिविर ओझलमा पर्नु दुखको विषय हो ।’

नारच्याङबाट तीन दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । यो हिमालले म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भुगोलमा पर्छ । तर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा अन्नपूर्ण हिमाल कास्कीमा पर्ने भनेर प्रचार भएकाले सोही अनुसारको बुझाई र भ्रम छ । भ्रम चिर्न नसक्दा म्याग्दी जिल्लाले अन्नपूर्ण हिमालबाट लाभ लिन सकेको छैन् ।

अन्नपूर्ण हिमाल म्याग्दीमा पर्ने तत्थ्य र प्रमाण पहिचान भएपछि नारच्याङका बासिन्दाहरुले त्यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो देखाएका छन् । पछिल्लो केही वर्षयता नारच्याङका बासिन्दाको पहलमा आधार शिविरसम्म पदमार्गले जोडिएको छ । यसअघि मुस्ताङको ताक्लुङ हुदै जंगल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो ।
वि.स २०६८ मा नारच्याङका बासिन्दाले निलगिरि खोलाको किनारै किनार आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । बाटो र विभिन्न खोलाहरुमा झोलुङ्गे पुल बनाएर तीन वर्षअघि नारच्याङ देखि अन्नपूर्ण आधार शिविरलाई पदमार्गले जोडिएको थियो ।

अहिले यो पदमार्ग स्तरोन्नती गरेर सहज र सुरक्षित रुपमा आवत जावत गर्ने बनाउन लागिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । पदमार्गमा आवासगृह, खानेपानी, झोलुङ्गे पुल लगायत पूर्वाधार तयार पारेर हेलीकप्टरबाट जाने पर्यटक र आरोहीलाई पैदलमार्गबाट पु¥याउने तयारी गरिएको उहाँले बताउनुभयो । ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन मन्त्रालयको सहयोगमा खोलिएको पदमार्ग सुधार र पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ,’ फगामीले भन्नुभयो । होटल तथा लजको सुबिधा नभएकाले क्याम्पीङ गर्नुपर्ने बाध्यता छ । वर्षमा १० देखि १५ समूह आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुग्छन् । पछिल्लो याममा तीन समूहले अन्नपूर्ण आरोहण गरेका थिए ।

यस क्षेत्रको पदयात्राको विकासका साथै समुद्र सतहदेखि ४१ सय मिटर उचाइमा रहेको पञ्चकुण्ड नारच्याङ हिमतालको संरक्षण गर्न स्थानीयले माग गरेका छन् । आधार शिविरमा रहेको यो ताल यहाँको अर्को आकर्षण हो । पदयात्राबाट उच्च हिमालको दृश्यावलोकनका साथै हिमताल र विभिन्न वनस्पति, चराचुरुंगी पनि अवलोकन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषी बरालले बताउनुभयो । पदमार्ग, पुल र आश्रयस्थल बनाउन सहयोग गरिएको उहाँले बताउनुभयो । पदमार्गलाई व्यवस्थित, सुधार र प्रचारप्रसारका लागि समुदाय र सरोकारवालाको थप सक्रियता आवश्यक रहेको उहाँको भनाई छ । क्याम्पीङ पदयात्राका लागि अन्नपूर्ण आधार शिविर नयाँ गन्तब्यको रुपमा विकास हुन सक्ने उहाँको भनाई छ । अन्नपूर्ण हिमाल म्याग्दीमा पर्ने तत्थ्य र प्रमाणको प्रचारप्रसारसंगै पूर्वाधार निर्माणमा स्थानीय तह, प्रदेश र संघीय सरकारका साथै समुदायले सक्रियता देखाउन आवश्यक छ । (रिखार दैनिकबाट साभार)