गाउँमै निशुल्क सल्यक्रिया सहितको शिविरबाट २५० बढी लाभान्वित

  • १८ जेष्ठ २०७६, शनिबार
  • 3225 पटक पढिएको

बेनी, १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा शुक्रवार सम्पन्न निशुल्क सल्यक्रिया सहितको स्वास्थ्य शिविरबाट २५० बढी लाभान्वित भएका छन् । नागीमा ग्रामीण स्वास्थ्य केन्द्र सञ्चालन गरेको फेट नेपाल र मोडल अस्पताल काठमाण्डौद्धारा आयोजित तीन दिने शिविरमा १२ जनाले सल्यक्रिया सहितको स्वास्थ्य उपचार सेवा लिएका हुन् ।


शिविरमा ८ जनाको एपेन्डीक्स, पित्तथैलीको पत्थर निकाल्ने लगायतको सल्यक्रिया गरिएको थियो भने ४ जनाको सामान्य सल्यक्रिया गरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका आर्थिक संयोजक कृष्ण पुर्जाले जानकारी दिनुभयो । शिविरमा जिल्लामै पहिलो पटक ल्याप्रशकोपीक प्रविधिबाट पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो । ग्रामीण भेगमा आयोजित सल्यक्रिया सहितको स्वास्थ्य शिविरबाट नागी संगै राम्चे, पर्वतको लेखफाँट, सालिजा, हलहले, मल्लाज लगायतका क्षेत्रका स्थानीयले लाभान्वित बनेका छन् ।

गाउँमै सल्यक्रिया सहितको शिविर सञ्चालन भएपछि अप्रेशन गर्नुपर्ने विरामीले लाखौँ खर्चिएर ठुला अस्पतालमा पुग्नुपर्ने बाध्यताबाट राहत पाएका छन् । शिविरमा डाक्टर अर्विन जोसीको नेतृत्वमा डाक्टर र स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण, अप्रेशन र औषधी वितरण समेत गरेका थिए । शिविरमा १ सय जनाले भिडियो एक्सरे र १५० जनाले स्वास्थ्य परिक्षण सेवा लिएको आयोजकले जनाएको छ ।