म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • १२ बैशाख २०७४, मंगलवार
  • 6463 पटक पढिएको

बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो ।     मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाइएको छ ।
बेनी नगरपालीकाको चुनाव गराउने र अन्य निर्वाचन अधिकृतको कार्यालयसंग समन्वय गर्ने उद्देश्यले बेनीमा एक हप्ता अघिनै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । कार्यालय स्थापनासंगै मनोनयन दर्ता लगायतका निर्वाचन कार्यतालीका समेत सार्वजनीक भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार बैशाख १६ देखि १९ गतेको कार्यातालीका परिवर्तन भई सो मितीमा हुने निर्वाचन गतिबिधी १८ देखि २२ गते सम्म हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले बेनीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका लागि जिल्ला न्यायाधिश रामप्रसाद शर्मा, मंगलामा मुरारी वस्ती, मालीकामा जगन्नाथ पौडेल, धौलागिरीमा गणेशबहादुर अधिकारी र अन्नपूर्णमा बिदुर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । पाँच वटा गाउँपालीकाका कार्यकारी अधिकृत सहायक निर्वाचन अधिकृतको रुपमा तोकिएका छन् ।

यसैबीच दरवाङमा कार्यालय स्थापनापछी निर्वाचन अधिकृत जगन्नाथ पौडेलले राजनितिक दलका प्रनितिधी र सरकारी कर्मचारीहरुलाई निर्वाचन आचार संहिता, निर्वाचन कार्यक्रम, मतदाता शिक्षा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । सहायक निर्वाचन अधिकृत तथा मालीका गाउँपालीकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नायव सुब्बा भुवन मल्लले गर्नुभएको थियो ।