जामुनाखर्क माविमा म्याग्दीमै पहिलो शैक्षिक महोत्सव हुँदै ( भिडियो सहित)

  • ६ जेष्ठ २०७६, सोमबार
  • कमल खत्री
  • 4339 पटक पढिएको

कमल  खत्री

म्याग्दी, ६ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो शैक्षिक महोत्सव आयोजना गरेको छ । यहि जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने चार दिने शैक्षिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सोमबार बेनीमा पत्रकार सम्मेलन गरि विद्यालयले शैक्षिक क्षेत्रलाई मात्रै समेटेर नयाँ अभ्यासको रुपमा शैक्षिक महोत्सव आयोजना गरिएको जानकारी दिएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले ‘‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान ’’भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको शैक्षिक महोत्सवको आन्तरिक तयारीलाई तिब्र पारिएको जानकारी दिनुभयो । शैक्षिक महोत्सवमा जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, खुला कविता प्रतियोगिता संगै युवा र विद्यार्थी केन्द्रित उत्प्रेरणामुलक कक्षा, प्रतिभा प्रदर्शन, प्रेरक व्यक्तित्वसंगको साक्षात्कार संगै शैक्षिक क्षेत्रसंग सम्बन्धित कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहसमुलक कार्यक्रम समावेश गरिएको प्रअ ढुङ्गानाले बताउनुभयो ।

विद्यार्थी, युवा र अभिभावकमा शैक्षिक जागरण ल्याउने र विद्यार्थीहरुमा नयाँ खोज र सोचको विकासका ेलागि महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ । बृहत शैक्षिक बहसमा म्याग्दीकै प्राध्यापक डाक्टर कर्ण बानियाँले संघिय शासन प्रणालीमा स्थानीय तहमा शिक्षा सम्बन्धि अधिकार र म्याग्दीको शैक्षिक अबस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुहुने विद्यालयले जनाएको छ । महोत्सवमा सहभागिताको लागि जिल्लामा रहेका शैक्षिक संस्थाहरुलाई पत्राचार गरिसकिएको छ ।

करिब ४ लाख खर्च अनुमान गरिएको शैक्षिक महोत्सव सञ्चालनको लागि वडा कार्यालय मार्फत रु १ लाख बजेट प्राप्त भएपनि अन्य स्रोत जुटाउनको लागि सम्बन्धित निकायमा पहल गरिएको विद्यालयले जनाएको छ । महोत्सवमा प्रतियोगितात्मक कार्यक्रम संगै शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसंग सम्बन्धित सामाग्री प्रर्दशनको लागि निशुल्क स्टलको समेत व्यवस्था गरिएको छ ।

कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने ‘‘समृद्धिको लागि शिक्षा’’ बिषयक वक्तृत्वकला प्रतियोगिता र खुला कविता प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार र १ हजार तथा हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु १२ हजार, ९ हजार, ६ हजार र ३ हजार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l