मालिकामा एक लाख बढी भेटि संकलन

  • ६ जेष्ठ २०७६, सोमबार
  • 1706 पटक पढिएको

 

बेनी ६ जेठ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका मन्दिरमा एकै दिन एक लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । चण्डी पूर्णीमा पर्वको अवसरमा शनिबार पुजाआजा र दर्शनका लागि मालिका पुगेका भक्तजनहरुबाट एक लाख १५ हजार तीन सय रुपैयाँ भेटि संकलन भएको हो ।

जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समिति र सुरक्षा निकायको रोहवरमा आइतबार भेटि गणाना गरिएको थियो । संकलित भेटि मालिका मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिने मालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मालिकामा यस वर्ष अहिलेसम्मकै धेरै भेटि संकलन भएको हो । यसअघि ७० हजार रुपैयाँसम्म भेटि संकलन भएको थियो ।
भक्तजन आगमनसंगै भेटि पनि बढेको हो । बिमको बाइन्दफाँट हुदै मालिका धुरीको फेदीमा रहेको नुनथला सम्म सडक पुगेकाले भक्तजन आगमन बढेको मन्दिर व्यवस्थापन समितिका सचिव ओमकार रोकाले बताउनुभयो । मालीका गाउँपालिका –६, ७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पूर्णीमा, भाइटिका, जेष्ठि पूर्णीमा र बालाचर्तुदर्शी पर्वमा बिशेष मेला लाग्ने गर्छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि रेञ्जका हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।