लोप्रेमा आमा समूहको भवन निर्माण

  • ५ जेष्ठ २०७६, आईतवार
  • 2231 पटक पढिएको

 

म्याग्दी २ जेठ । जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको भवनमा एक वटा सभाहल, एक वटा स्टोर (भण्डारण) कोठा, चर्पी र शयन कक्ष रहेको निर्माण समितिका अध्यक्ष कुमारी पुर्जाले बताउनुभयो ।

भवन निर्माणका लागि वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले चालू आर्थिक वर्षमा चार लाख रुपैयाँ बिनियोजन गरेको थियो । यसैगरी समूहको कोषमा रहेको दुई लाख रुपैयाँ पनि भवन निर्माणमा परिचालन गरिएको छ ।

स्थानीय ६६ घरधुरीले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । भवनको जेठ २५ गते स्थानीय युवा क्लवले आयोजना गर्न लागेको मेलाको अवसरमा उद्घाटन गर्ने तयारी भएको छ ।
सामुदायिक भवन निर्माण भएपछि भेला, सम्मेलन, तालिम, गोष्ठि, कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । यसैगरी बिवाह, छेवार, किरीयाको लागि समेत भवनको उपयोग गर्ने स्थानीयबासीको योजना छ ।
यसअघि लोप्रेमा आमा समूहको भवन थिएन् । भवन अभावमा ठूला कार्यक्रम सञ्चालन गर्न समस्या थियो । खुल्ला चौर र व्यक्तिका घरमा कार्यक्रम गर्नुपर्ने अवस्था थियो ।
यसैगरी जलजला गाउँपालिकाको पर्यटकीय स्थल फलामेडाँडाको भ्यु टावर जाने पदमार्ग निर्माण भएको छ । वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको एक लाख रुपैयाँबाट स्थानीयबासीले श्रमदान गरेर ८० मिटर ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण भएको स्थानीय युवा पुर्खबहादुर पुर्जाले बताउनुभयो ।
गत वर्ष ५४ मिटर पदमार्ग निर्माण भएको थियो । थप १५० मिटर पदमार्ग निर्माण गरेमा भ्यू टावर जोडिने पुर्जाले बताउनुभयो । फलामेडाँडाबाट हिमाल र पहाडको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।