मालिका धुरीमा पुजाआजा गर्ने भक्तजनको घुईचो

  • ४ जेष्ठ २०७६, शनिबार
  • 3607 पटक पढिएको

मलिका ४ जेठ । म्याग्दीको मालीका गाउँपालिका –६, ७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा शनिबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा बिहान ५ बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका स्थानबाट करिब हजारौ भक्तजन आएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

मलिकाको पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ आएको बेनपा १० पात्लेखेतका तेजनाथ पौडेलले बताउनुभयो । मालिका धुरीमा चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशीमा बिशेष मेला लाग्ने गर्दछ ।

पुजालाई व्यवस्थित बनाउन गाउँपालिका र वडाका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय दरवाङका सुरक्षाकर्मी, मालिका संरक्षण समिति, बिम, दुखु र ठाडाखानीका स्वमस्वेक, युवा कल्व, आमा समूह परिचालन भएका थिए । बस्तीदेखि टाढा रहेको मालिकामा पुजाआजा गर्ने अधिकांश शुक्रबार साझनै त्यहाँ पुगेका थिए ।

मालिकामा भाकल गरेमा मनोकाक्षा पुरा हुने र मागेको कुरा पुरा भएमा बोका, परेवाको बली चढाउने चलन रहेको छ । यसैगरी पछिल्लो समय दैनिक पुजा सञ्चालनका साथै बलीको विकल्पमा नरीवल चढाउन सकिने विकल्प खुल्ला गरिएको छ ।

यहाँ मालिका, कालीका र जाल्पादेवीको मुर्ती रहेको छ । लालीगुराँसको जंगलको बिचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायत २० भन्दा बढी हिमशृङखला, सुर्योदय, म्याग्दीका अधिकांश बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

म्याग्दीको बिम बाइन्दफाँट, हिदी, दुख, पाखापानी र टोड्के भएर मालिका धुरी पुग्न सकिन्छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट हुदै नुनथला सम्म सडक पु¥याएकाले यसपटक भक्तजनलाई सहज भएको र आगमन पनि बढेको मालिका संरक्षण समितिका सचिव ओमकार रोकाले बताउनुभयो ।

मालिका धुरीमा पुग्ने भक्तजनको लागि सत्तल, व्यवस्थित पदमार्ग र खानेपानीको समस्या भएको छ । भक्तजन बढेपछि आवास व्यवस्थापन नहुँदा ओढार र खुल्ला आकाशमुनी रात कटाउन बाध्य भएका छन् ।