रघुगंगाका ज्येष्ठ नागरिकलाई सम्मानसंगै बस्तुगत सहायता वितरण (फोटो फिचर)

  • ३ जेष्ठ २०७६, शुक्रबार
  • 2218 पटक पढिएको

बेनी, ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गरेको छ । गाउँपालिकाको ८ वटै वडामा पुगेर सामाजिक सुरक्षा कार्यक्रममा समेटीएका नागरिकहरुलाई सम्मान संगै बस्तुगत सहायता वितरण सुरु गरिएको हो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका र एकल तथा विद्यवा महिलाहरुलाई सम्मान संगै बस्तुगत सहायता वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । गाउँपालिकाले गरिब तथा विपन्न विद्यार्थीलाई स्टेशनरी समेत वितरण सुरु गरेको छ ।

हरेक वडामा लक्षित व्यक्तिलाई १५ सय बराबरको बस्तुगत सहायता र ५ सय बराबरको शैक्षिक सामाग्री वितरण थालिएको हो । बस्तुगत सहायतामा आयुर्वेद भिटामिन, सावुन, कोलगेट लगायतका सरसफाईका सामाग्री वितरण गरिएको छ भने आयुर्वेद स्वास्थ्य शाखा मार्फत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र आबश्यक आयुर्वेद औषधी समेत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्बर ५ झिँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमंगलेमा बस्तुगत सहायता र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत थापा, आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख लक्षमण शर्मा चालिसे, योजना शाखाका प्रमुख योगेन्द्र बानियाँ र सम्बन्धित वडाका जनप्रतिनिधिहरुले लक्षित व्यक्तिहरुलाई सहायता हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिकाले झिमा ३०, पाखापानीमा ४०, कुइनेमंगलेमा ३० र चिमखोलामा ३६ जना ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलाहरुलाई सम्मान तथा बस्तुगत सहायता वितरण गरेको छ । अन्य वडाहरुमा समेत छिट्टै बस्तगत सहायता र स्टेशनरी वितरणको कार्यक्रम हुने गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको दायराभित्र पर्ने व्यक्तिहरुको सम्मान र राहतको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।