मराङमा सडक निर्माण

  • ३ जेष्ठ २०७६, शुक्रबार
  • 1931 पटक पढिएको

 

मराङ ३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा सडक निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशी देखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँ अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।


बेशी–मराङ–बुल–मलम्पार–मल्कवाङ सडक आयोजना अन्तरगत यस वर्ष बेशी देखि कुम्री सम्म सडकको ट्याक खुलेको हो । तीन किलोमिटर दुरीको सडक ६ देखि ७ मिटर फराकिलो भएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो । नयाँ सडकको ट्याक खोल्नुका साथै १८४ घनमिटर ९२ थान ग्यावीयन पर्खाल समेत निर्माण गरिएको छ । बाह्ै महिना सहज रुपमा सवारी साधन सञ्चालन हुने गरि सडक निर्माण भएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । सडकमा नालीका बनाउनुका साथै विस्तारका लागि योजनालाई आगामी वर्ष पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।
सडक निर्माण भएपछि स्थानीयबासीलाई आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ । गत वर्ष मालिका गाउँपालिकाको अर्गला देखि बेशीसम्म सडकको ट्याक निर्माण भएको थियो । करिब दुई किलोमिटर पहाडमा सडक बनाउन बाँकी भएपनि खोलामा डाइभर्सन बनाएर बैकल्पिक ट्याक बनाएर बेशीमा सडक जोडीएको हो । यस वर्ष प्रदेश सरकारले बिनियोजन गरेको एक करोड रुपैयाँ बजेटबाट अर्गाला–बेशी खण्डको भिरमा ट्याक निर्माणको काम भैरहेको छ ।