बजार अनुगमनलाई गाउँ केन्द्रित गरिने

  • २ जेष्ठ २०७६, बिहीबार
  • 1798 पटक पढिएको

 

बेनी २ जेठ । म्याग्दीमा बजार अनुगमनलाई गाउँ केन्द्रित गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले स्थानीय तहका बजार क्षेत्रमा नियमित बजार अनुगमन गर्ने निर्णय गरेको हो ।प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा भएको बैठकले सबै स्थानीय तहका बजार केन्द्रमा प्रत्येक महिनाको पहिलो सोमबार बजार अनुगमन गर्ने निर्णय भएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी, उपभोक्ता हितसंग सम्बद्ध समूहका प्रतिनिधि, नागरिक समाजको सहभागितामा संयुक्त अनुगमन गर्ने निर्णय भएको हो । बजार अनुगमनको संयोजनका लागि कार्यालय र नेतृत्व गर्ने अधिकारीको समेत जिम्मेवारी बाँडफाँड गरिएको छ ।

बेनी नगरपालिकामा प्रजिअ लीलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिकामा प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, रघुगंगा गाउँपालिकामा जिल्ला स्वास्थ्य प्रमुख भिमप्रसाद आचार्य, धौलागिरी गाउँपालिकामा चन्द्रशेखर सापकोटा, मंगला गाउँपालिकामा घरेलु उद्योग विकास अधिकृत सरिता गौतम र मालिका गाउँपालिकामा कारागार शाखा प्रमुख राजेन्द्र आचार्यलाई संयोजक तोकिएको छ ।

ग्रामिण क्षेत्रमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ बिक्रीका लागि पठाउने गरिएको, व्यवसाय दर्ता नगरेको जस्ता गुनासो आएकाले विगतमा सदरमुकाम केन्द्रित बजार अनुगमनलाई गाउँमा विकेन्द्रित गरिएको प्रजिअ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट हुने बजार अनुगमनलाई निरन्तरता दिदै बजार तथा राजमार्गमा रहेका होटल, रेष्टुरेन्टहरुको अनुगमन गरी सरसफाई, गुणस्तर परिक्षण र मूल्यसूचि निर्धारण गर्न लगाउने निर्णय भएको छ ।

विगतमा बजार क्षेत्रमा गरिने अनुगमन औपचारिकतामा सिमित भएको र उपलब्धिमुलक बन्न नसकेको गुनासो छ ।